पाकिस्तानको स्वातमा आत्मघाती बम विस्फोट, १४ जनाको मृत्यु
13 घन्टा पहिले प्रकाशित
एजेन्सी, श्रावण १८ गते । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित स्वात उपत्यकाको कबाल सहरमा प्रहरी चौकीबाहिर भएको आत्मघाती बम विस्फोटमा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। आइतबार साँझ हिंसाविरुद्ध आयोजित विरोध प्रदर्शनस्थल नजिकै भएको विस्फोटमा प्रहरी टोलीले चौकीको प्रवेशद्वारमा आत्मघाती आक्रमणकारीलाई रोकेर खानतलासी गर्ने प्रयास गरेपछि उनले आफूलाई विस्फोट गराएको स्वात जिल्लाका प्रहरी प्रमुख उमर खानले बताएका छन्। हालसम्म घटनाको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन।
स्थानीयवासीहरू उक्त क्षेत्रमा बढ्दो हिंसाविरुद्ध सरकारसँग प्रभावकारी कारबाहीको माग गर्दै भेला भएका बेला सभाको अन्तिम सम्बोधन चलिरहेका क्रममा विस्फोट भएको थियो। स्वात उपत्यका सन् २००९ अघि तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) को मुख्य आधार क्षेत्र मानिन्थ्यो। घटनापछि पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शेहबाज शरीफले बम विस्फोटको कडा निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जलि र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments