लोकसभामा पेपर लिक विधेयकमाथि बहसका क्रममा अनुराग ठाकुर–आनन्द भदौरियाबीच चर्काचर्की

2 दिन पहिले प्रकाशित

एजेन्सी, श्रावण १३ गते ।  लोकसभामा एण्टी–पेपर लिक कानुन संशोधनसम्बन्धी विधेयकमाथि छलफलका क्रममा भारतीय जनता पार्टी (भाजपा)का सांसद अनुराग ठाकुर र समाजवादी पार्टी (सपा)का सांसद आनन्द भदौरियाबीच तीव्र विवाद भएको छ। अनुराग ठाकुरले लोक सेवा चयन आयोगको तस्बिर देखाउँदै सपा सरकारको पालामा आयोगलाई ‘यादव आयोग’ बनाइएको टिप्पणी गरेपछि सपा सांसदहरूले त्यसको कडा विरोध गरेका हुन्। भदौरियाले उक्त टिप्पणीलाई जातीय लाञ्छना भएको भन्दै सदनको अभिलेखबाट हटाउन माग गर्दै वेलमा पुगेर प्रदर्शन गरेका थिए। उनले संसदीय नियम ३५२(२) अनुसार कुनै सदस्य वा समुदायमाथि व्यक्तिगत आरोप लगाउन नमिल्ने उल्लेख गर्दै अनुराग ठाकुरसँग सार्वजनिक माफी माग्नसमेत आग्रह गरे।

यता अनुराग ठाकुरले परीक्षा प्रश्नपत्र चुहावटलाई आतंकवाद र माओवादी हिंसाजत्तिकै गम्भीर चुनौतीको संज्ञा दिँदै मोदी सरकार यस समस्याको स्थायी समाधानका लागि अझ कडा कानुन ल्याउने तयारीमा रहेको बताए। उनले विपक्षी नेतृ प्रियंका गान्धीले आईआईटी मद्रासका प्राध्यापक वी. कामकोटिबारे दिएको अभिव्यक्तिको पनि आलोचना गर्दै राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)सँग जोडिनु गलत नभएको दाबी गरे। साथै उनले प्रियंका गान्धी र राहुल गान्धीमाथि व्यंग्यात्मक टिप्पणी गरेपछि सदनमा थप हंगामा भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?