राम मन्दिर दान प्रकरणबारे दिएका अभिव्यक्तिको छानबिन गर्न विहिप अध्यक्षको माग
8 घन्टा पहिले प्रकाशित
एजेन्सी, असार २१ गते । विश्व हिन्दू परिषद (विहिप) का अध्यक्ष तथा वरिष्ठ अधिवक्ता आलोक कुमारले अयोध्याका प्रहरी अधिकारीलाई पत्र लेख्दै राम मन्दिरको दान तथा चन्दा सम्बन्धी कथित अनियमितताबारे विभिन्न राजनीतिक नेताहरूले दिएका अभिव्यक्तिको छानबिन गर्न माग गरेका छन्। उनले आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल, समाजवादी पार्टीका नेता रामगोपाल यादव, राज्यसभा सांसद सञ्जय सिंह तथा कांग्रेस नेतृ प्रियंका गान्धी वाड्रालगायतले लगाएका आरोपको तथ्यगत आधार र प्रमाणबारे अनुसन्धान गर्न तथा उनीहरूको बयान अभिलेख गर्न अनुरोध गरेका छन्। आलोक कुमारले आरोप पुष्टि गर्ने विश्वसनीय प्रमाण भए त्यसले सत्यतथ्य पत्ता लगाउन सहयोग पुग्ने, तर आधारहीन आरोप लगाइएको भए त्यसबारे पनि कानुनी रूपमा अनुसन्धान हुनुपर्ने बताएका छन्।
पत्रमा रामगोपाल यादवले राम मन्दिरमा करिब २० हजार करोड भारतीय रुपैयाँभन्दा बढीको घोटाला भएको दाबी गरेको, भक्तजनले दान गरेका सुन, चाँदी, हिरा तथा नगदको पूर्ण विवरण सार्वजनिक नगरिएको आरोप लगाएको उल्लेख गरिएको छ। त्यस्तै अरविन्द केजरीवाल र सञ्जय सिंहले मन्दिरको दानपात्र तथा बहुमूल्य सामग्रीमा २०० करोड रुपैयाँभन्दा बढीको चोरी भएको आरोप लगाएका थिए। प्रियंका गान्धी वाड्राले पनि करोडौँ रुपैयाँको कथित अनियमितताबारे सत्यता स्पष्ट गर्न सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गरेकी थिइन्। विहिप अध्यक्ष कुमारले यस्ता गम्भीर आरोपले समाजमा भ्रम फैलाउन सक्ने भन्दै तथ्यहीन आरोप प्रमाणित भए कानुनअनुसार आवश्यक कारबाही हुनुपर्ने बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments