एमबाप्पेको निर्णायक गोलमा फ्रान्स क्वार्टरफाइनलमा, अब मोरक्कोसँग भिड्ने

12 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार २१ गते । फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै लगातार चौथो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अत्यधिक गर्मीबीच सम्पन्न प्रि–क्वार्टरफाइनल खेलमा कप्तान किलियन एमबाप्पेले दोस्रो हाफमा गरेको एकमात्र गोल नै फ्रान्सको जितका लागि निर्णायक बन्यो। खेलको ७०औँ मिनेटमा भीएआर समीक्षापछि फ्रान्सले पेनाल्टी पाएको थियो, जसलाई एमबाप्पेले गोलमा परिणत गर्दै टोलीलाई अन्तिम आठमा पुर्‍याए। अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग आगामी बिहीबार अमेरिकाको म्यासाचुसेट्सस्थित फक्सबरोमा प्रतिस्पर्धा गर्नेछ।

यो गोलसँगै एमबाप्पेको विश्वकप करिअरमा १९ खेलबाट १९ गोल पुगेको छ। उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता लिओनल मेसीको कीर्तिमानभन्दा अब केवल एक गोलले मात्र पछाडि रहेका छन्। खेलमा पाराग्वेले बलियो रक्षात्मक प्रदर्शन गरे पनि गोल गर्न सकेन। पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले एमबाप्पेका थप केही उत्कृष्ट अवसर रोक्दै टोलीलाई ठूलो हारबाट जोगाएका थिए। जितसँगै फ्रान्सले उपाधि यात्रालाई निरन्तरता दिएको छ भने पाराग्वेको विश्वकप यात्रा प्रि–क्वार्टरफाइनलमै समाप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?