मानिसको अंगसमेत खाएको बाघ नियन्त्रणमा, दुई महिना विशेष निगरानीमा राखिने

9 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार १६ गते । मध्य प्रदेशको विश्वप्रसिद्ध बाँधवगढ टाइगर रिजर्भ बाट चिन्ताजनक घटना सार्वजनिक भएको छ। गत साता उमरिया जिल्लाको पनपथा बफर क्षेत्रमा ६० वर्षीय अन्नु रजकको ज्यान लिने पाँच वर्षे नर बाघलाई वन विभागले कडा प्रयासपछि नियन्त्रणमा लिएको छ। सामान्यतया बाघले मानिसमाथि आक्रमण गरे पनि मृतकको शरीरका अंगसमेत खाएको घटना असामान्य मानिएको छ। घटनापछि ५० भन्दा बढी वनकर्मी र लक्ष्मण, सूर्या, गणेश तथा सुन्दरगज नामका चार प्रशिक्षित हात्तीको सहयोगमा सञ्चालन गरिएको विशेष अभियानमार्फत बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको थियो।

वन्यजन्तु विज्ञहरूका अनुसार मानिसको हत्या गरी शरीरका अंगसमेत खानु बाघको स्वाभाविक व्यवहार होइन। यही कारण बाघलाई मगधी रेन्जस्थित विशेष बाडाभित्र दुई महिनासम्म निगरानीमा राखिएको छ। यस अवधिमा बाघको व्यवहार, आक्रामकता तथा मानसिक अवस्थाको अध्ययन गरिनेछ। साथै, बाघको रगत र अन्य जैविक नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। परीक्षण प्रतिवेदन र निगरानीको नतिजाका आधारमा बाघलाई पुनः जंगलमा छाड्ने वा चिडियाखानामा पठाउने विषयमा निर्णय गरिने वन विभागले जनाएको छ। यस वर्ष मध्य प्रदेशमा बाघको आक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेपछि वन्यजन्तु व्यवस्थापनप्रति थप चिन्ता बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?