सीतामढी प्रहरी हिरासतबाट लागूऔषध कारोबारी फरार, तीन चौकीदारमाथि कारबाही हुने

10 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार १६ गते ।  बिहारको सीतामढी जिल्लास्थित परिहार प्रहरी थानाको हिरासतबाट लागूऔषध कारोबारमा पक्राउ परेका एक अभियुक्त फरार भएका छन्। प्रहरीले दिएको जानकारीअनुसार असार २८ गते सवारी जाँचका क्रममा १.०२३ किलोग्राम चरेस, मोटरसाइकल तथा अन्य सामग्रीसहित पक्राउ परेका प्रभु भगत हिरासतबाट भाग्न सफल भएका हुन्। उनी परसौनी थाना क्षेत्रको मदनपुर गाउँ निवासी महेन्द्र भगतका छोरा हुन्। पक्राउपछि उनीविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी प्रहरी हिरासतमा राखिएको थियो।

प्रारम्भिक अनुसन्धान तथा सीसीटीभी फुटेजको अध्ययनबाट अभियुक्तले हिरासतभित्र रहेको शौचालयको भेन्टिलेटरको सिसा फुटाएर फरार भएको खुलेको प्रहरीले जनाएको छ। प्रभु भगतविरुद्ध लुटपाटसहित विभिन्न आपराधिक मुद्दा दर्ता रहेको बताइएको छ। घटनापछि फरार अभियुक्तविरुद्ध थप एक मुद्दा दर्ता गरिएको छ भने उनको खोजी तीव्र पारिएको छ। घटनाको गम्भीरता ध्यानमा राख्दै जिल्ला प्रहरी प्रमुख अमित रञ्जनले हिरासत निगरानीमा खटिएका तीन जना चौकीदारलाई निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाएका छन्। साथै, घटनाको विस्तृत छानबिनका लागि सदर डीएसपी–२ लाई निर्देशन दिइएको र दोषीमाथि कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?