बिहारका १५ हजार स्वास्थ्य संस्थामा सीसीटीभी जडान गरिने, चिकित्सकको निगरानी गरिने

12 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार १६ गते ।  बिहार सरकारले स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न राज्यभरका करिब १५ हजार अस्पताल तथा स्वास्थ्य संस्थामा सीसीटीभी क्यामेरा जडान गर्ने घोषणा गरेको छ। स्वास्थ्य मन्त्री निशान्त कुमारले सोमबार उक्त जानकारी दिँदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उपस्थितिदेखि कार्यसम्पादनसम्मको निगरानी प्रविधिमार्फत गरिने बताएका हुन्। उनका अनुसार यसका लागि विशेष सफ्टवेयर विकास भइरहेको छ, जसमा चिकित्सक र कर्मचारीहरूको आगमन तथा प्रस्थानको विवरण अभिलेख रहनेछ। निगरानीका लागि स्वास्थ्य विभागमा कमाण्ड रुमसमेत स्थापना गरिएको छ।

पटनास्थित दरियापुर भट्ठी शहरी प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा मन्त्री कुमारले स्वास्थ्य क्षेत्रमा थप सुधारका योजना पनि सार्वजनिक गरेका छन्। उनका अनुसार बिहारका पाँच क्षेत्रमा ११ वटा लेभल–३ र पाँच वटा लेभल–२ ट्रमा सेन्टर निर्माण भइरहेका छन्। साथै, विभिन्न स्वास्थ्य संस्थामा बिरामी शय्याको संख्या वृद्धि गरिने तथा एलएनजेपी अस्पतालमा ४०० शय्याको नयाँ अस्पताल स्थापना गरिने योजना रहेको छ। उक्त अस्पतालमा अर्थोपेडिक तथा स्पोर्ट्स इन्जुरी सेन्टरसमेत सञ्चालन गरिने जनाइएको छ। स्वास्थ्य मन्त्रालयले निकट भविष्यमा कर्मचारी भर्नाका लागि विज्ञापनसमेत प्रकाशन गर्ने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?