अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणप्रति भारतको आपत्ति

5 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १६ गते । भारतले अफगानिस्तानमा पाकिस्तानद्वारा गरिएको हवाई आक्रमणको कडा निन्दा गर्दै घटनामा ज्यान गुमाएका नागरिकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणलाई अफगानिस्तानको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको प्रत्यक्ष हस्तक्षेपका रूपमा व्याख्या गर्दै यसले क्षेत्रीय शान्ति र स्थिरतामा गम्भीर असर पार्ने जनाएको छ।

भारतले आक्रमणमा महिला तथा बालबालिकासहित निर्दोष नागरिकको ज्यान गएको उल्लेख गर्दै पाकिस्तानको कदमलाई गैरजिम्मेवार व्यवहारको उदाहरण भएको आरोप लगाएको छ। साथै, पाकिस्तानले आफ्ना आन्तरिक समस्याबाट ध्यान मोड्न यस्ता गतिविधिको सहारा लिने गरेको दाबी पनि गरेको छ। यसैबीच, पाकिस्तानले अफगानिस्तानभित्र सञ्चालन गरिएको सैन्य कारबाहीमा २९ जना चरमपन्थी मारिएको जनाएको छ। तर, अफगानिस्तानको तालिबान सरकारले भने आक्रमणमा महिला र बालबालिकासहित दर्जनौं सर्वसाधारण नागरिकको मृत्यु भएको दाबी गरेको छ। भारतले अफगानिस्तानको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति आफ्नो अटल समर्थन पुनः दोहोराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?