कतारको ग्यास प्लान्टमा विस्फोट, ५४ घाइते र १८ जना बेपत्ता
3 घन्टा पहिले प्रकाशित
एजेन्सी, असार ८ गते । कतारको रास लाफान औद्योगिक शहरस्थित ग्यास प्लान्टमा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन्। कतारी अधिकारीहरूका अनुसार विस्फोटपछि प्लान्ट क्षेत्रमा आगो फैलिएको थियो। घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन गरिएको र केही समयमै आगो नियन्त्रणमा लिइएको बताइएको छ।
कतारको आन्तरिक मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उक्त घटना प्राविधिक दुर्घटनाका कारण भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। मन्त्रालयले सार्वजनिक सुरक्षामा असर पार्ने कुनै ग्यास चुहावट नभएको स्पष्ट पारेको छ। बेपत्ता व्यक्तिहरूको खोजी कार्य कतार इन्टरनेशनल सर्च एण्ड रेस्क्यू ग्रुप र नागरिक रक्षा टोलीको संयुक्त प्रयासमा जारी रहेको छ। विस्फोटले घरेलु बजारमा ग्यास आपूर्तिमा असर पारेको छ वा छैन भन्नेबारे भने हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। प्रत्यक्षदर्शीहरूका अनुसार राजधानी दोहासम्म पनि विस्फोटको ठूलो आवाज सुनिएको थियो।
कमेन्ट गर्नुहोस्
view comments