फ्लिपकार्ट पार्सल ठगी गर्ने गिरोह पक्राउ, पाँच जना आरोपित नियन्त्रणमा

4 दिन पहिले प्रकाशित

एजेन्सी, असार १ गते । बिहारको रोहतास जिल्लास्थित नगर थाना प्रहरीले फ्लिपकार्टमार्फत डेलिभरी हुने महँगा इलेक्ट्रोनिक सामानको अदला–बदली गरी ठगी गर्ने संगठित गिरोहको पर्दाफास गरेको छ। प्रहरीले पाँच जना आरोपितलाई पक्राउ गर्दै उनीहरूको साथबाट कार, क्यामेरा, ल्यापटप, मोबाइल फोन तथा ठूलो परिमाणमा अन्य इलेक्ट्रोनिक सामग्री बरामद गरेको जनाएको छ। फ्लिपकार्टको टोलीले तीन जना शंकास्पद व्यक्तिलाई पार्सलसहित प्रहरीको जिम्मा लगाएपछि घटनाको अनुसन्धान सुरु भएको थियो। पक्राउ परेकामध्ये दुई जना डेलिभरी ब्वाय र एक जना नक्कली सामान तयार गर्ने कार्यमा संलग्न रहेको खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा समस्तीपुर निवासी सत्यकाम उर्फ किशु र अमर राजाले गिरोह सञ्चालन गरिरहेको पाइएको छ। उनीहरूले डेलिभरी ब्वायलाई मासिक ४० हजार भारतीय रुपैयाँको प्रलोभन दिएर योजनामा संलग्न गराएका थिए। गिरोहले महँगा इलेक्ट्रोनिक सामान ग्राहकसम्म पुग्नुअघि नै असली वस्तु निकालेर त्यसको सट्टा सस्तो वा नक्कली सामान राख्ने गरेको स्वीकार गरेका छन्। विशेष अनुसन्धान टोलीले गया जिल्लाबाट गिरोहका मुख्य योजनाकारलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको सवारीसाधनबाट सोनी क्यामेरा, ल्यापटप, मोबाइल फोन, एप्पल हेडफोन, स्मार्टवाच, गो–प्रो क्यामेरा, इयरबड्स, चार्जर, डेटा केबल, प्लास्टिक सिलिङ मेसिनलगायत सामग्री बरामद गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?