टी–२० विश्वकपमा इंग्ल्यान्डसँग ५ रनले पराजित भए पनि नेपालको ऐतिहासिक प्रदर्शनलाई विश्वव्यापी प्रशंसा

16 घन्टा पहिले प्रकाशित

एजेन्सी, माघ २६ गते ।  १०औँ आईसीसी टी–२० विश्वकपमा आइतबार इंग्ल्यान्डविरुद्ध ५ रनले पराजित भए पनि नेपाली क्रिकेट टोलीले विश्वभरबाट अपार प्रशंसा बटुलेको छ। वानखेडे स्टेडियममा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन चाहिँदा ५ रन मात्र जोड्न सकिएपछि बाउन्ड्री प्रहार गर्न नसक्दा नेपालले हार व्यहोरेको थियो। तर, टोलीको उत्कृष्ट प्रदर्शन, अन्तिम बलसम्मको लडाइँ र विश्वस्तरीय टिमविरुद्धको साहसपूर्ण खेलले क्रिकेट जगतलाई प्रभावित पारेको छ।

दक्षिण अफ्रिकाका सर्वकालीन महान् तीव्र गतिका बलर डेल स्टेनले सामाजिक सञ्जालमा लेखे, “नेपाल, कुनै पनि बेला आवश्यक परे म सहयोग गर्न तयार छु। अप, अप एन्ड अप।” भारतीय पूर्वअलराउन्डर युवराज सिंहले पनि प्रशंसा गर्दै भने, “नेपाललाई ठूलो सम्मान छ। विश्वकै एक उत्कृष्ट टिमसँग खेल्यो, अन्तिम बलसम्म लडिरह्यो र विश्वास तथा मायाले के गर्न सक्छ भन्ने देखायो। यसरी नै टिम हुर्किन्छ र च्याम्पियन बन्छ। विश्व क्रिकेट आज नेपाल हेरिरहेको छ।” रविचन्द्रन अस्विन, आकाश चोपडा, इरफान पठानलगायत भारतीय खेलाडी तथा कमेन्टेटरहरूले पनि नेपालको हौसला बढाएका छन्। यसैगरी, आईपीएलका टोलीहरू मुम्बई इन्डियन्स, चेन्नाई सुपर किंग्स, राजस्थान रोयल्स, पन्जाब किंग्स, गुजरात टाइटान्स, आरसीबी, केकेआर र लखनऊ सुपर जायन्ट्सले पनि सामाजिक सञ्जालमार्फत नेपाली खेलाडीहरूको प्रदर्शनको प्रशंसा गरेका छन्। नेपालको यो प्रदर्शनले क्रिकेटमा नयाँ इतिहास रच्ने सम्भावना देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?