टी–२० विश्वकप २०२६ : आईसीसीले बङ्गलादेशको खेल भारतबाहिर सार्ने माग खारेज गर्‍यो

2 दिन पहिले प्रकाशित

एजेन्सी,पुष २३ गते । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) को टी–२० विश्वकप २०२६ का खेलहरू भारतबाहिर सार्ने माग खारेज गरेको छ। मङ्गलबार भएको भर्चुअल बैठकमा बीसीबीले सुरक्षा कारण देखाउँदै उठाएको मागलाई आईसीसीले अस्वीकार गरेको क्रिकइन्फोले जनाएको छ। आईसीसीले बङ्गलादेशले आफ्ना खेलहरू भारतमै खेल्नुपर्ने अन्यथा अङ्क गुमाउन सक्ने चेतावनी दिएको खबरमा उल्लेख छ, यद्यपि बीसीबीले यस्तो कुनै अल्टिमेटम नपाएको दाबी गरेको छ।

यो विवादको सुरुवात आइतबार बीसीबीले आईसीसीलाई पत्र लेखेर बङ्गलादेशका खेलहरू भारतबाट सार्न अनुरोध गरेपछि भएको हो। पृष्ठभूमिमा भारत र बङ्गलादेशबीचको राजनीतिक तनाव छ, जसले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल टोली कोलकाता नाइट राइडर्सलाई बङ्गलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि थप बढेको थियो। विश्वकपको तालिकाअनुसार बङ्गलादेशले आफ्ना खेलहरू कोलकाता र मुम्बईमा खेल्ने छ।

प्रतियोगिताको १०औँ संस्करण फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा आयोजना हुँदैछ र फाइनल मार्च ८ मा हुनेछ। २० टोली सहभागी यो विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ, जसमा इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेशसँगै नेपाल छ। यो निर्णयले विश्वकपको तयारीमा कुनै बाधा नपर्ने र खेल तालिकाअनुसार नै हुने सङ्केत गरेको छ। बङ्गलादेशले अब भारतमै खेल्नुपर्ने अवस्था आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?