रामजानकी विवाहपञ्चमीको तेश्रो दिन धनुष यज्ञ मनाइँदै
5 वर्ष पहिले प्रकाशित
पुस १ ,२०७७ । रामजानकी विवाहपञ्चमीको तेश्रो दिन जनकपुरमा आज बिधि पुर्बक धनुष यज्ञ मनाइँदै छ ।
जानकी मन्दिरमा आज धनुष यज्ञ गर्ने कार्यक्रम रहेको महन्त रामतपेश्वर दासले जानकारी दिए । विवाहपञ्चमीको पहिलो दिन सोमाबार नगरदर्शन र दोश्रो दिन मंगलबार फुलबारी लिला सम्पन्न भइसकेका छन् ।
त्रेता युगमा जस्तै धनुष यज्ञको दिन भगवान रामले सीतासंग विवाहको लागि भगवान पर्शुरामले मिथिलाका राजा जनकलाई दिएको धनुष भाँच्ने गरिन्छ ।
त्यस्तै चौथो दिन पुस २ गते बिहीबार तिल्कोत्सव, ३ गते शुक्रबार राम र जानकीको मटकोर रहेको छ भने पुस ४ गते विवाहपञ्चमीको मुख्यदिन विवाह रहेको छ । पुस ५ गते आइतबार रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने महन्त दासले बताए ।
त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसंग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । तर यसपाली कोरोना भाइरसको कारणले विवाहपञ्चमी महोत्सवका सप्ताहव्यापी कार्यक्रमहरु धुमधामसंग मनाउन सकेको छैन ।
कमेन्ट गर्नुहोस्
view comments