किसानहरु उखुसहित प्रदर्शनमा , नेता र उद्योगीबीचको साँठगाँठले किसान मर्कामा

5 वर्ष पहिले प्रकाशित

१ पुस, काठमाडौं‌ । चार दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसानले बुधबार उखुको ढाँकसहित प्रदर्शन गरेका छन् । यसअघि ब्यानर र प्लेकार्डसहित प्रदर्शन र धर्ना दिएका किसानले बुधबारदेखि उखु बोकेरै प्रदर्शन गरेका छन् ।

सरकारले उखुलाई नगदेबालीका रुपमा सूचीकृत गरेको छ । तर किसानले भने उखु बेचेर नगद त पाएका छैनन्, त्यसमाथि घरखेत बन्धकी राखेर उखु खेती गर्दा लागेको ऋण तिरिरहेका छन् ।

आफ्नै पैसा माग्दा पनि सरकार र उद्योगीले आफूहरुलाई नसुनेको उनीहरुको गुनासो छ । गत वर्ष पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा चिनी मिल र किसानहरूबीच सम्झौता भएको थियो । उक्त सम्झौताको भाखा नाघेपछि गत चैतमा नै उखु किसानहरू अनशन बस्ने र उधारो सम्झौता कार्यान्वयन गराउने भन्दै काठमाडौं आएका थिए। त्यतिबेला कोरोना संक्रमणका कारण देशव्यापी लकडाउन हुने भएपछि उनीहरू आन्दोलनका कार्यक्रम स्थगित गरेर गाउँ फर्किए ।

उखु किसान संघर्ष समितिका अनुसार २०७० देखि २०७६ सालसम्म मध्य मधेस र नवलपरासीसहितका २० हजारभन्दा धेरै किसानले बेचेको उखुको मूल्य पाएका छैनन् । उद्योग तथा वाणिज्य मन्त्रालयका अनुसार ८९ करोडभन्दा धेरै रकम ७ चिनी उद्योगीले किसानहरूलाई भुक्तानी गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?