पहिलो महिनामै एक खर्ब १९ अर्ब रुपैयाँ वैदेशिक व्यापार घाटा

16 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ८ गते । भन्सार विभागका तथ्यांकअनुसार, चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा नेपालले एक खर्ब १९ अर्ब १० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा बेहोरेको छ। यस अवधिमा कुल १ खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँ बराबरको व्यापार हुँदा १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँको आयात र २३ अर्ब ९३ करोड रुपैयाँको निर्यात भएको विभागले जनाएको छ। नेपालले ११० भन्दा बढी मुलुकसँग व्यापार गरे पनि भारत (६४ अर्ब ८ करोड घाटा) र चीन (२७ अर्ब ९४ करोड घाटा) सहितका मुलुकहरूसँग ठूलो घाटा देखिएको छ। युएई, थाइल्याण्ड, अर्जेन्टिना, अस्ट्रेलिया र बंगलादेशसँग पनि घाटा बढेको छ। बहराइनसँग त आयात मात्र १७ करोड ७७ लाख रुपैयाँ भएको र निर्यात शून्य रहेको तथ्यांकले देखाउँछ।

यद्यपि केही मुलुकहरूसँग भने नेपालले नाफा कमाएको छ। जर्मनी, अफगानिस्तान, संयुक्त राज्य अमेरिका, रूस, बेल्जियम र नर्वेसँग भएको व्यापारमा साउन महिनामा नाफा देखिएको विभागले जनाएको छ। गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस वर्ष आयात ११.४२ प्रतिशतले बढ्दा निर्यात ९५.७५ प्रतिशतले वृद्धि भएको छ। तर निर्यातमा भएको तीव्र वृद्धि पनि आयातको तुलनामा निकै कम भएकाले समग्र व्यापार घाटा झन् बढिरहेको देखिन्छ।

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?