काठमाडौं, असार २६ गते । उज्वेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलबाट फर्किएकी नेपाली राष्ट्रिय महिला टोलीकी प्रमुख सरिला श्रेष्ठले कप्तानी चयनमा देखिएको विवादको मूल कारण मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड भएको दाबी गरेकी छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भनिन्, “प्रशिक्षकले अन्तिम समयसम्म पनि कप्तान चयन नगर्दा स्थिति भद्रगोल भयो।” उज्वेकिस्तान प्रस्थान गर्नुअघि नै कप्तान तय गर्नुपर्नेमा प्रशिक्षकले निर्णय गर्न आनाकानी गरेको उनको आरोप थियो।
श्रेष्ठ उक्त प्रतियोगितामा हेड अफ डेलिगेट्सको भूमिकामा रहेकी थिइन्। उनका अनुसार, प्रशिक्षकको ढिलासुस्तीले टिममा अन्योलता पैदा भयो र यसले टोलीको एकताको भावना प्रभावित गर्यो।
यसअघि प्रशिक्षक डे वाइल्डले एक अन्तर्वार्तामा एन्फाको व्यवस्थापन प्रणालीको कडा आलोचना गर्दै नेपाली फुटबलमा सुधार नभए फर्किन तयार नरहेको चेतावनी दिएका थिए। उनी तास्केन्दबाट सिधा आफ्नो देश बेल्जियम फर्किए।
प्रशिक्षक र संघबीचको समन्वय अभावकै कारण विवाद चर्किएको हो भन्ने संकेत एन्फाका प्राविधिक निर्देशक हरि खड्काले पनि गरे। उनले भने, “कप्तान चयन गर्ने अधिकार प्रशिक्षककै भए पनि त्यसका लागि संघसँग समन्वय आवश्यक हुन्छ।”
यो घटनाले महिला टिम व्यवस्थापनमा गहिरो असमझदारी र नेतृत्व संकट देखिएको छ। एन्फाले स्पष्ट कार्यविधि नअपनाएसम्म यस्ता विवाद दोहोरिने संकेत मिलेको विश्लेषकहरूले जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments