११ महिनामा सवा दुई खर्ब सार्वजनिक ऋण थपियो, कुल ऋण जीडीपीको ४३.४७ प्रतिशत

13 दिन पहिले प्रकाशित

काठमाडौं, असार ५ गते । चालु आर्थिक वर्षको ११ महिनामा नेपाल सरकारले सवा दुई खर्बभन्दा बढी सार्वजनिक ऋण थपेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, गत असार मसान्तसम्म देशको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकोमा, जेठ मसान्तसम्ममा यो रकम दुई खर्ब २० अर्ब ५८ करोड रुपैयाँले बढेर २६ खर्ब ५४ अर्ब ६६ करोड ८ लाख पुगेको हो। यससँगै हाल देशको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.४७ प्रतिशत पुगेको छ, जसमा वैदेशिक ऋणको हिस्सा ५२.०६ प्रतिशत र आन्तरिक ऋणको ४७.९४ प्रतिशत रहेको छ।

जेठ मसान्तसम्म आन्तरिक ऋण दायित्व १२ खर्ब ७२ अर्ब ५३ करोड ३० लाख पुगेको छ भने वैदेशिक ऋण १३ खर्ब ८२ अर्ब १२ करोड ७८ लाख रुपैयाँ पुगेको छ। सरकारले चालु आर्थिक वर्षमा पाँच खर्ब ४७ अर्ब ऋण लिने लक्ष्य राखेको थियो, तर ११ महिनामा चार खर्ब १४ अर्ब मात्रै प्राप्त भएको छ। ऋण सेवाका लागि छुट्याइएको चार खर्ब दुई अर्ब ८५ करोड २६ लाख बजेटमध्ये ८१ प्रतिशत खर्च भइसकेको छ, जसमा आन्तरिक ऋण भुक्तानीमा ८२.४२ प्रतिशत र वैदेशिक ऋण भुक्तानीमा ७८.७२ प्रतिशत रकम खर्च भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?