नयाँ बजेटले ल्यायो विद्युतीय कारोबारमा भ्याट फिर्ता व्यवस्था, प्रणालीमै छुट देखिने गरी तयारी

20 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ २८ गते । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा सरकारको ध्यान विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्नतर्फ केन्द्रित देखिएको छ। बजेट अनुसार अब ग्राहकले विद्युतीय माध्यमबाट सामान वा सेवा खरिद गर्दा तिरेको भ्याटमध्ये १० प्रतिशत रकम तत्काल फिर्ता पाउनेछन्। उदाहरणका लागि, एक हजार रुपैयाँको खरिदमा लाग्ने १३० रुपैयाँ भ्याटमध्ये १३ रुपैयाँ ग्राहकलाई फिर्ता हुनेछ। यस्ता कारोबारका लागि कर दाताले विद्युतीय बीजक प्रणाली जडान गरेको हुनुपर्छ भने ग्राहकले व्यवसायिक खातामार्फत भुक्तानी गर्नुपर्नेछ।

यद्यपि यो अवधारणा नयाँ भने होइन। सरकारले २०७६ सालमै यस्तो भ्याट फिर्ताको घोषणा गरे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन। अब भने आन्तरिक राजस्व विभागले कारोबारको क्रममा नै भ्याट फिर्ता बराबरको रकम छुट देखिने सफ्टवेयर विकास गरिरहेको जनाएको छ। प्रारम्भिक चरणमा केही सुपरमार्केट र तोकिएका सेवाहरूमा परीक्षण गरिए पनि सफलता पाउन सकेको थिएन। विभागले नयाँ प्रणालीअन्तर्गत कार्यविधि संशोधन गर्दै थप वस्तु तथा सेवाहरू समावेश गर्ने तयारी गरेको छ। यस व्यवस्थाबाट अनौपचारिक अर्थतन्त्र घटाउने र औपचारिक कारोबारलाई प्रवर्द्धन गर्ने सरकारको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?