युएईलाई हराउँदै नेपाली महिला क्रिकेट टोली पहिलोपटक टी-२० विश्व छनोटमा

24 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ ५ गते । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ चरणमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले ऐतिहासिक उपलब्धि हात पारेको छ। थाइल्यान्डमा सोमबार सम्पन्न खेलमा नेपालले ११५ रनको लक्ष्य ३ बल बाँकी छँदै पूरा गर्दै सुपर-३ को शीर्ष दुईमा स्थान सुरक्षित गर्‍यो र यससँगै पहिलोपटक टी-२० विश्व छनोटमा पुग्ने अवसर प्राप्त गर्‍यो। अब नेपालले यसै वर्ष १० टोली सहभागी हुने विश्व छनोट खेल्नेछ, जहाँ चार टोलीले २०२६ मा इंग्ल्यान्डमा हुने विश्वकपमा स्थान बनाउनेछन्।

युएईविरुद्धको जितमा कप्तान इन्दू बर्माको नटआउट ३० रन र रुबिना क्षेत्रीको २३ रनको योगदान निर्णायक बन्यो। ओपनर सम्झना खड्काले २१ तथा पूजा महतोले १३ रन जोडिन्। बलिङतर्फ नेपालकी मनिषा उपाध्यायले चार विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन् भने कविता कुँवरले दुई र राजमति ऐरीले एक विकेट हात पारिन्। यसअघि समूह ‘सी’ को विजेता बनेको नेपालले सुपर-३ मा आयोजक थाइल्यान्ड र युएईसँग प्रतिस्पर्धा गरेको हो। अब सुपर-३ को अन्तिम खेलमा मंगलबार नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?