राष्ट्रपति रनिङ शिल्डमा बर्दिबास नगरपालिका प्रथम

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ११ गते ।  महोत्तरी जिल्लामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बर्दिबास नगरपालिकाले जितेको छ । महोत्तरी जिल्ला खेलकुद विकास समिति, जलेश्वरको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो । जिल्लाका आठ पालिकाबाट ७ सयभन्दा बढी खेलाडी सहभागी भएको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो र कबड्डीलगायतका खेल समावेश गरिएको थियो । उत्कृष्ट प्रदर्शन गर्दै बर्दिबास नगरपालिका प्रथम, औरही नगरपालिका दोस्रो तथा गौशाला नगरपालिका तेस्रो भएको खेलकुद विकास समितिका सचिव सुभाषलाल कर्णले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादव तथा खेलकुद विकास समितिका अध्यक्ष सत्येन्द्र यादवले शिल्ड र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री यादवले यस्ता प्रतियोगिताले खेल प्रतिभा पहिचान गर्न र विद्यार्थीमा खेल भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । यद्यपि केही खेलाडीले अत्यधिक गर्मीमा प्रतियोगिता सञ्चालन गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले आगामी वर्षदेखि मौसम अनुकूल समयमा प्रतियोगिता आयोजना गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?