दया देखाएको हात्तीले विपत्ति निम्त्यायो: चन्द्रपुरमा एकल महिला बेघर, एकको ज्यान गयो
20 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख २६ गते । चन्द्रपुर नगरपालिकाको जुडिबेला र गैडाटार क्षेत्रका किसानहरूले गोली लागेर घाइते भएको ‘एमगज’ नामक हात्तीलाई सहानुभूतिपूर्वक बचाएका थिए। उनीहरूले खाना खुवाएर उपचारको पहल गरेपछि हात्ती निको भएको थियो। तर, गत कात्तिकदेखि स्थानीय क्षेत्रमै बसोबास गर्दै आएको हात्तीले अहिले घर भत्काउने, खाद्यान्न नष्ट गर्ने र खेतबारीमा क्षति पुर्याउने जस्ता समस्या निम्त्याएको छ। जुडिबेलाका सुनिप पोखरेल भन्छन्, “जसको उपचारमा आफैं लागेका थियौँ, अब त्यसैले कहिले मार्ला भन्ने डरमा बाँच्नुपरेको छ।”
गत मंगलबार हात्तीको आक्रमणबाट एकल महिला फुलमाया कुँवरको घर पूर्ण रूपमा ध्वस्त भएको छ। नगरप्रमुख सञ्जयकुमार काफ्लेले स्थानीय युवाहरूको सहयोगमा घर पुनर्निर्माणको पहल भइरहेको बताए। उता वडाअध्यक्षहरूले हात्तीको आतङ्कबाट दुई दर्जनभन्दा बढी घर ध्वस्त भएको जनाएका छन् भने फतुवा विजयपुरकी ७० वर्षीया पातलीमाया तामाङको कात्तिक १६ मा ज्यान समेत गएको पुष्टि भएको छ। समस्या समाधानका लागि राज्य निकायहरूलाई पटकपटक आग्रह गरिए पनि अहिलेसम्म कुनै ठोस पहल नभएको स्थानीयको गुनासो छ।
कमेन्ट गर्नुहोस्
view comments