कांग्रेसको १५औँ महाधिवेशनमा गगन–देउवा पक्षबीच बढ्यो मतभेद

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भाद्र ३१ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच महाधिवेशनको मिति र प्रक्रियालाई लिएर मतभेद तीव्र भएको छ। दुवै पक्षले आ–आफ्नो कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाउँदै नेता तथा कार्यकर्तालाई सहभागी हुन सार्वजनिक आह्वान गरेका छन्। थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुन आग्रह गर्दै पार्टीभित्रका मतभेद संवाद, विधि र पद्धतिबाट समाधान गर्नुपर्ने बताएका छन्। देउवाले भने विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको निरूपणअघि नयाँ महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नभएको बताएका छन्।

थापा पक्षले असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ भने देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। यसैबीच कांग्रेसले ‘निर्वाचन निर्देशिका–२०८३’ जारी गर्दै सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार, सहमहामन्त्रीको २० हजार तथा केन्द्रीय सदस्यको ११ हजार रुपैयाँ तोकेको छ। महाधिवेशनको वैधता, कार्यतालिका र नेतृत्व हस्तान्तरणको विषयमा दुवै पक्षबीच देखिएको फरक धारणा अब पार्टीको औपचारिक प्रक्रियामै प्रतिबिम्बित हुन थालेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?