लुम्बिनीको एनपीएल यात्रा समाप्त, काठमाडौँको प्ले अफ सम्भावना बलियो
11 दिन पहिले प्रकाशित
काठमाडौं, मंसिर २६ गते । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना एक खेल अगावै समाप्त भएको हो। १०४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अलआउट भयो। लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। काठमाडौँका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए र प्लेयर अफ द म्याच बने।
यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँ १०३ रनमा समेटिएको थियो। भीम सार्कीले सर्वाधिक ३१ रन योगदान दिए। बलिङतर्फ लुम्बिनीका साद विन जफरले तीन विकेट लिए। जितसँगै चार खेलबाट चार अङ्क जोड्दै काठमाडौँ पाँचौँ स्थानमा उक्लिएको छ र प्ले अफ सम्भावना बलियो बनाएको छ। लुम्बिनी भने ६ खेलमा पाँच हारसँगै लिगबाट बाहिरिएको छ। शीर्ष स्थानमा सुदूरपश्चिम रोयल्स आठ अङ्कसहित उक्लिएको छ, जसले बुधबार जनकपुर वोल्ट्सलाई ७२ रनले पराजित गर्यो।
कमेन्ट गर्नुहोस्
view comments