जनकपुर बोल्ट्सको शानदार प्रदर्शन, लगातार दोस्रो जित
20 दिन पहिले प्रकाशित
काठमाडौं, मंसिर १७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सले सोमबार कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई पनि ८ विकेटले पराजित गरेको थियो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। कप्तान अनिलकुमार साहले नटआउट ६१ रनको उत्कृष्ट पारी खेले। उनले ४१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। जिमी निशमले ८ बलमा नटआउट १६ रन जोडे।
ओपनर आसिफ शेखले २९ बलमा ३६ रन बनाउँदै सुरुवात बलियो बनाएका थिए। लाहिरू मिलान्थाले १३ बलमा २४ रन थपे।
कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १४१ रन बनायो। अन्तिम दुई ओभरमा अर्जुन घर्ती र सोमपाल कामीले ४३ रनको साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धी स्कोरसम्म पुर्याए। अर्जुनले २२ बलमा ३३ रन र सोमपालले १३ बलमा नटआउट २९ रन बनाए।
जनकपुरका बलरहरूले सुरुवाती दबाब कायम राखे। ललित राजवंशी, हर्ष थाकर, किशोर महतो, र जिमी निशमले समान १-१ विकेट लिए।
मंगलबार एनपिएलमा दुई खेल हुनेछन्। बिहान ९ बजे सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच, दिउँसो १ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
कमेन्ट गर्नुहोस्
view comments