आइसिसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपाल आज युएईसँग निर्णायक खेल खेल्दै

1 महीना पहिले प्रकाशित

काठमाडौं, कार्तिक २८ गते । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज आफ्नो छैठौँ र अन्तिम खेल खेल्न लागेको छ। युएईको अजमानस्थित द सेभेन रंगशालामा नेपाली समयानुसार दिउँसो ३ः१५ बजे नेपालले घरेलु टोली युएईको सामना गर्दैछ। कात्तिक २१ गतेदेखि सुरु भएको यस एसिया छनोटमा नेपालले अहिलेसम्म पाँच खेल खेलिसकेको छ, जसमा चार खेलमा जित र एक खेलमा पराजित भएको छ।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई एक सय आठ रनले हरायो। तेस्रो खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो। चौँथो खेलमा नेपालले फेरि थाइल्याण्डलाई एक सय छ रनले हरायो भने पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ। युएईले भने पाँच खेलमै जित हात पारेर १० अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ, जबकि नेपाल ८ अङ्कसहित दोस्रो स्थानमा छ।

आजको निर्णायक खेलमा नेपालले विश्वकपमा छनोट हुनका लागि युएईलाई जित्नुपर्नेछ र रनरेटमा पनि युएईलाई पछाडि पार्नुपर्नेछ। प्रतियोगितामा सहभागी चार टोलीमध्ये शीर्ष स्थानमा आउने टोलीले सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा स्थान सुरक्षित गर्ने भएकाले नेपालका लागि आजको खेल अत्यन्त महत्वपूर्ण रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?