नेपालको हङ्कङ सिक्सेसमा इंग्ल्याण्डविरुद्ध शानदार जित

2 महीना पहिले प्रकाशित

काठमाडौं, कार्तिक १६ गते । नेपालले हङ्कङ सिक्सेस क्रिकेटमा इंग्ल्याण्डलाई ६ विकेटले पराजित गर्दै सानदार जित निकालेको छ। शुक्रबार बिहान सम्पन्न खेलमा नेपालले इंग्ल्याण्डले दिएको ९७ रनको लक्ष्य ११ बल बाँकी छँदै पुरा गरेको हो। कप्तान सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गर्दै १२ बलमा ३ चौका र ६ छक्कासहित अर्धशतक प्रहार गरे। चोटका कारण दोस्रो ओभरको अन्तिम बलमा मैदान बाहिरिए पनि, उनले टिमलाई बलियो सुरुवात दिलाएका थिए।

ओपनर लोकेश बमले ११ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २० रनमा नट आउट रहँदै जित सुनिश्चित गरे। त्यस्तै, रसिद खानले ५ बलमा २ चौका र २ छक्कासहित २१ रनको योगदान दिए। इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै ५.५ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो। कप्तान रवि बोपराले १२ बलमा १ चौका र ७ छक्कासहित ४९ रन प्रहार गर्दा समित पटेलले १७ बलमा ३ चौका र ३ छक्कासहित ३९ रन बनाए।

नेपालको बलिङतर्फ प्रतिश जिसीले २ विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले एक/एक विकेट लिए। समित पटेल पाँचौं ओभरको पाँचौं बलमा रन आउट भए। नेपालले आफ्नो दोस्रो खेल अस्ट्रेलियासँग कात्तिक १७ मा खेल्ने तालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?