शेयर बजारमा ठूलो गिरावट, परिसूचक २७ दशमलव ३९ अंकले घट्यो
3 महीना पहिले प्रकाशित
काठमाडौं, असोज २२ गते । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा ठूलो गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ३९ अंकले घटेर २ हजार ६ सय ६३ दशमलव ३२ अंकमा झरेको छ। आजको कारोबारमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जसमा २ सय ४४ कम्पनीको सेयर कारोबार हुँदा २ सय ७ कम्पनीको मूल्य घटेको र ३५ कम्पनीको मूल्य बढेको देखिएको छ। दुई कम्पनीको मूल्य भने स्थिर रह्यो।
आजको दिनमा १३ मध्ये १२ उपसूचकमा गिरावट आएको छ। फाइनान्स कम्पनी उपसमूहमा २.७६ प्रतिशतले सबैभन्दा धेरै गिरावट आएको छ भने बैंकिङ र माइक्रोफाइनान्स उपसमूहहरूबाहेक अन्य सबै उपसमूहका परिसूचकहरू एक प्रतिशतभन्दा बढीले घटेका छन्। विशेषगरी, इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले ८.५ प्रतिशत मूल्य गुमाएका छन् भने मध्य सोलु हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत मूल्य वृद्धिको फाइदा लिएका छन्। आजको दिनमा एनएलजी इन्स्योरेन्स कम्पनीको २७ करोड रुपैयाँ बराबरको सर्वाधिक कारोबार भएको छ।
कमेन्ट गर्नुहोस्
view comments