मधेश प्रदेशसभामा यसपटक केही नयाँ अनुहार थपिए
3 वर्ष पहिले प्रकाशित

मंसिर ११ गते ।मधेश प्रदेशसभामा यसपटक केही नयाँ अनुहार थपिएका छन् ।
फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेश प्रदेशसभामा देखिने भएको छ।
मधेश प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्था रहको छ। अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनःदोहोरिएका छन् भने संसद्को पहिलो अनुभव लिन नयाँ अनुहारको समेत उल्लेख्य सङ्ख्यामा प्रदेशसभामा प्रवेश पाउने भएको छ।
मुख्यमन्त्रीका रूपमा सरकार सञ्चालन गरी सकेका लालबाबु राउत फेरि दोहोरिएका छन्। जनता समाजवादी पार्टीका केन्द्रीय नेतासमेत रहेका उनी पर्सा क्षेत्र नं १ ९ख० बाट निर्वाचित भएका छन्।
कांग्रेस नेता रामसरोज यादव धनुषा क्षेत्र नं ३ (क) बाट फेरि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। रामसरोज यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत भइसकेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनल पनि बारा क्षेत्र नं ४ (ख) बाट दोस्रो पटक निर्वाचित भएका छन्। सोनल मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा विकासमन्त्री भइसकेका छन्।
त्यस्तै, पर्सा क्षेत्र नं २ (ख) बाट लोसपाकै रमेशप्रसाद कुर्मी पनि फेरि निर्वाचित भएका छन्।
पर्सा क्षेत्र नं १ (क) बाट निर्वाचित माओवादी केन्द्रका रहवर अन्सारी, पर्सा क्षेत्र नं २ (क) बाट निर्वाचित कांग्रेसका श्यामप्रसाद पटेल, पर्सा क्षेत्र नं ३ ९ख० बाट जितेका कांग्रेसका जनार्दन सिंह क्षेत्रीको प्रदेशसभामा यो पहिलो यात्रा हो।
यस्तै, बारा क्षेत्र नं ३ (क) बाट निर्वाचित एमालेको रवीन्द्र दास श्रेष्ठ, बाराकै क्षेत्र नं ४ (क) बाट निर्वाचित एमालेका देवनारायण थारू पनि प्रदेशसभाका लागि नयाँ हुन्।
रौतहटमा प्रदेशसभामा निर्वाचित सातमध्ये छ नयाँ छन्। क्षेत्र नं १ (क) बाट नागेन्द्र साह र (ख) बाट कृष्णप्रसाद यादव निर्वाचित निर्वाचित भएका छन्। कांग्रेसका दुवै नेताको पनि यो प्रदेशसभाको पहिलो यात्रा हो। कृष्ण यादव कांग्रेसका प्रदेश सभापति पनि छन्।
क्षेत्र नं २ (क) मा एमालेका मोहम्मद जैद आलम, क्षेत्र नं २ (ख) बाट निर्वाचित कनिश पटेल, क्षेत्र नं ३ (क) मा स्वतन्त्र उम्मेदवार केशव राय र क्षेत्र नं ४ ९क० मा निर्वाचित माओवादीका युवराज भट्टराई पनि नयाँ हुन्।।
यसैगरी सर्लाही–४ (ख) मा माओवादीका फकिरा महतो र धनुषा–२ (क) मा एमालेका लखन दास तत्मा निर्वाचित हुँदै पहिलो पटक सांसद बनेका छन्। सप्तरीका छ स्थानको नतिजा आउँदा प्रदेशसभा पुग्ने पाँच नयाँ छन्। यसमध्ये चार जनमत पार्टीका छन्।
क्षेत्र नं ३ (ख) मा शम्भुकुमार साह, क्षेत्र नं २ (क) मा सतिशकुमार सिंह, क्षेत्र नं २ (ख) मा महेशप्रसाद यादव र क्षेत्र नं १ 9ख) मा सकिल मियाँ निर्वाचित भएका छन्।
क्षेत्र नं १ (क) मा जितेका एमालेका राजकुमार लेखी पनि नयाँ नै हुन्। लेखीसँग यसअघि प्रदेश सरकारको नीति तथा योजना आयोगमा सदस्य भएर काम गरेको अनुभव छ।
कमेन्ट गर्नुहोस्
view comments