तराई मधेस सहित देशभर हर्सोल्लासका साथ माघे संक्रान्ति मनाइँयो

5 वर्ष पहिले प्रकाशित

राकेश साह

माघ १ , २०७७

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लागेका थिए ।

तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । विहानै स्नान ध्यान गरि तिल,चामल सहित देउतालाई चढाएर स्वयम पनि छोएर मात्र अरु केहि खाने परम्परा छ ।
धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । त्यसैले माघे संक्रान्तिको दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुल लगायतका परिकार खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको छ ।आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

यस्तै बिहीबार थारु जातिको मुख्य पर्व माघी काठमाडौं लगायत देशभर मनाइएको छ । हरेक वर्ष माघको पहिलो दिन थारु जातिले माघी पर्व मनाउने गर्दछन् । यस वर्ष पनि काठमाडौं लगायत थारुहरुको बहुल्यता भएको विभिन्न ठाउँमा माघी पर्व मनाइएको छ ।अघिल्ला वर्षहरुमा काठमाडौं लगायत विभिन्न ठाउँमा औपचारिक कार्यक्रम गरी धुमधाम र हर्सोल्लासका साथ माघी मनाइने गरिएको थियो । यसपाली भने कोभिड १९ संक्रमणका कारण देशभर सानो समुहमा अथवा परिवारभित्र मात्रै माघी पर्व मनाईएको छ । माघीमा मिठो मिठो परिकारहरु बनाएर खाने प्रचलन छ । यस पर्वमा मौलिक परिकारहरु चिचर(भत्कुन), सितुवा, घुँगी, हाँसको मासु लगायतका परिकारहरु बनाएर खाने गरिन्छ भने आफ्नो कला, संस्कृति झल्किने पोषाक लगाएर धुमधामसाग माघी मनाइने गरिन्छ ।

थारु जातिले माघी पर्वलाई नयाँ वर्षको दिनको रुपमा लिने गर्दछन् भने यस दिनदेखि नयाँ कामको सुरुवात गर्ने प्रचलन पनि रहेको छ । माघीको दिनमा गाउँ समाजको नयाँ अगुवा चुन्ने तथा घरसल्लाह गर्ने काम पनि गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?