पत्नीको हत्या गरी शव तीन टुक्रा पार्ने पतिलाई जन्मकैद, दुई छोराछोरीलाई मासिक ४ हजार दिने आदेश

4 घन्टा पहिले प्रकाशित

एजेन्सी, भाद्र ३ गते । भारतको बिहारस्थित बगहामा पत्नीको हत्या गरी शव तीन टुक्रा पारेर फालेको अभियोगमा अदालतले आरोपी पतिलाई जन्मकैदको सजाय सुनाएको छ। बगहा एडीजे–४ मानवेंद्र मिश्रको अदालतले सुभाष यादवलाई भारतीय दण्ड संहिताको धारा ३०२ अन्तर्गत जन्मकैदसँगै एक लाख भारतीय रुपैयाँ जरिवाना तोकेको हो।

धनहा थाना क्षेत्रको बैरा बजार टोला मुसहरीमा मोटरसाइकल र भैंसीको विषयमा विवाद भएपछि सुभाषले पत्नी रीना देवीको हत्या गरेको अभियोजन पक्षको दाबी थियो। हत्या गरेपछि शव जलाउने र प्रमाण नष्ट गर्ने प्रयास गरिएको तथा शवलाई तीन टुक्रा पारेर छुट्टाछुट्टै बोरामा राखी फालिएको थियो। मृतकको घाँटीबाट भेटिएको बाकसको चाबीका आधारमा उनको पहिचान गरिएको थियो।

अदालतले प्रमाण नष्ट गरेको कसुरमा पनि सुभाषलाई सात वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ। जरिवाना नतिरे थप ६ महिना कैद भुक्तान गर्नुपर्नेछ। मुद्दामा वैज्ञानिक तथा प्राविधिक प्रमाण र साक्षीको बयानका आधारमा अभियोजन गरिएको थियो।

यसैबीच, अदालतले मृतकका दुई नाबालक छोराछोरीको भविष्यलाई ध्यानमा राख्दै बिहार सरकारलाई परवरिश योजनाअन्तर्गत दुवैलाई मासिक चार–चार हजार भारतीय रुपैयाँ उपलब्ध गराउन आदेश दिएको छ। साथै, उनीहरूलाई पुनर्वास योजनाको लाभ दिनसमेत निर्देशन दिएको अदालतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?