राज कुन्द्रालाई लन्डन अदालतको झट्का, ४१ करोडभन्दा बढी रकम फिर्ता गर्न आदेश
1 दिन पहिले प्रकाशित
- राजस्थान रोयल्ससँग जोडिएको पुरानो विवादमा लन्डन उच्च अदालतले राज कुन्द्राले सम्झौता उल्लङ्घन गरेको ठहर गरेको छ।
- अदालतले ब्याजसहित करिब ४९ लाख अमेरिकी डलर फिर्ता गर्न आदेश दिएको हो।
एजेन्सी, श्रावण ४ गते । इन्डियन प्रिमियर लिग (आईपीएल) टोली राजस्थान रोयल्ससँग सम्बन्धित कानुनी विवादमा व्यवसायी राज कुन्द्रालाई ठूलो झट्का लागेको छ। बेलायतको लन्डन उच्च अदालतले सन् २०१९ को गोप्य सेटलमेन्ट सम्झौता उल्लङ्घन गरेको भन्दै कुन्द्रालाई करिब ४९ लाख ३८ हजार अमेरिकी डलर (४१ करोड भारतीय रुपैयाँभन्दा बढी) ब्याजसहित फिर्ता गर्न आदेश दिएको छ।
अदालतले कुन्द्रालाई यसै विवादसँग सम्बन्धित विषयमा भारतमा नयाँ कानुनी प्रक्रिया अघि बढाउनसमेत स्थायी रोक लगाएको छ। न्यायाधीश ग्रिफिथ्सले जुलाई १६ मा इमर्जिङ मिडिया भेन्चर्स (ईएमभी) र उसका मालिक मनोज बडालेको पक्षमा फैसला सुनाउँदै कुन्द्राले सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जालमार्फत सम्झौताका सर्त तोडेको निष्कर्ष निकाले।
सन् २०१९ मा भएको सम्झौताअनुसार ईएमभीले कुन्द्रालाई ४९ लाख ३७ हजार ८८७ अमेरिकी डलर भुक्तानी गरेको थियो। त्यसको बदलामा कुन्द्राले राजस्थान रोयल्समा कुनै दाबी नगर्ने, थप कानुनी विवाद नउठाउने र टोली वा सञ्चालकको प्रतिष्ठामा असर पर्ने सार्वजनिक टिप्पणी नगर्ने सहमति गरेका थिए।
तर ईएमभीका अनुसार सन् २०२५ देखि कुन्द्राले इमेल, सामाजिक सञ्जाल र अन्य माध्यमबाट शेयर मूल्यसम्बन्धी असन्तुष्टि व्यक्त गर्दै राजस्थान रोयल्सका सञ्चालकमाथि धोखाधडी र आर्थिक अनियमितताको आरोप लगाएका थिए। त्यसपछि ईएमभीले सम्झौता रद्द गर्दै रकम फिर्ताको मागसहित लन्डन उच्च अदालतमा मुद्दा दायर गरेको थियो।
सुनुवाइका क्रममा कुन्द्राले सम्झौता नै धोखाधडीपूर्ण भएको दाबी गरे पनि त्यसको समर्थनमा पर्याप्त प्रमाण पेश गर्न नसकेको अदालतले जनाएको छ। अन्तिम सुनुवाइमा कुन्द्रा वा उनका कानुनी प्रतिनिधि उपस्थित नभएपछि अदालतले एकपक्षीय फैसला सुनाएको हो।
अदालतले सन् २०१५ को शेयर हस्तान्तरण सम्झौता र २०१९ को सेटलमेन्ट दुवै वैध रहेको ठहर गर्दै राज कुन्द्रा र उनको कम्पनी कुकी इन्भेस्टमेन्ट्सलाई संयुक्त रूपमा रकम फिर्ता गर्न आदेश दिएको छ। साथै, यसै विषयमा भारतमा थप कानुनी कारबाही अघि बढाउन नपाउने आदेशसमेत जारी गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments