प्रहरी लाइनमा 'लभ ट्रयाङ्गल'; महिला प्रहरीको विषयमा भएको विवादमा चालकद्वारा साथीको छातीमा गोली प्रहार
2 घन्टा पहिले प्रकाशित
एजेन्सी, २० वैशाख गते। भारतको बिहार राज्यस्थित गया प्रहरी क्षेत्रमा महिला सिपाहीसँग जोडिएको प्रेम–त्रिकोणका कारण दुई फरक थानाका चालकबीच गोलीकाण्ड भएको छ। शनिबार बिहान सिविल लाइन्स क्षेत्रअन्तर्गत पितामहेश्वर इलाकामा भएको घटनामा कोतवाली थानामा कार्यरत चालक नीरज कुमार गम्भीर घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार परैया थानाका निजी चालक गौतम कुमार ले देसी कट्टाबाट नीरजको छातीमा गोली प्रहार गरेका थिए। घाइते अवस्थामै नीरज आफैं मोटरसाइकल चलाएर कोतवाली थाना पुगेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ उपचार जारी छ।
प्रहरीका अनुसार विवादको जडमा एउटी महिला सिपाहीसँग दुबै पक्षको सम्बन्ध रहेको देखिएको छ। ती सिपाही पहिले परैया थानामा कार्यरत रहँदा गौतमसँग नजिकिएकी थिइन् भने पछिल्लो समय कोतवालीमा सरुवा भएपछि नीरजसँग सम्बन्ध बढेको बताइएको छ। घटनाको जानकारी पाएपछि आक्रोशित गौतम बिहानै महिला सिपाही बस्ने कोठामा पुगेर गोली चलाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सिटी डीएसपी सरोज कुमार शाह ले घटनालाई गम्भीर भन्दै आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान तीव्र पारिएको र महिला सिपाहीमाथि समेत विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments