आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित नक्कली नेपाली र भारतीय रुपैयाँको ठूलो गिरोह भारतमा पक्राउ

2 दिन पहिले प्रकाशित

काठमाडौं, माघ १९ गते । भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्लाको मेजरगञ्ज क्षेत्रमा भारतीय प्रहरी (पूर्वी चम्पारण प्रहरी र एसटीएफको संयुक्त टोली) ले नेपाल–भारत सीमा क्षेत्रमा नक्कली नोटको अन्तर्राष्ट्रिय गिरोहलाई ठूलो धक्का दिएको छ। गिरोहले आगामी नेपालको प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्ने गरी ठूलो परिमाणमा नक्कली नेपाली र भारतीय रुपैयाँ भित्र्याउने तयारी गरेको थियो। पक्राउ पर्ने १० जनामध्ये तीन जना नेपाली र सात जना भारतीय नागरिक छन्। उनीहरू रक्सौल आसपासको सीमा क्षेत्रमा सक्रिय थिए।

भारतीय प्रहरीले छापामारी गर्दा उनीहरूको अत्याधुनिक नक्कली नोट छाप्ने कारखाना फेला पारेको र ध्वस्त पारेको छ। बरामद सामग्रीमा २५ लाख रुपैयाँबराबरको नक्कली नेपाली नोट, १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँ, हाइटेक प्रिन्टिङ मेसिन, नोट छाप्ने कागज, रसायन तथा अन्य सामग्री छन्। यसबाहेक तीन मोटरसाइकल र एउटा कार पनि नियन्त्रणमा लिइएको छ। प्रहरीले गिरोहका बाँकी सदस्य र मुख्य योजनाकारको खोजी तीव्र बनाएको छ। नक्कली नोट कारोबारलाई राष्ट्रिय सुरक्षा तथा आर्थिक स्थायित्वमाथिको गम्भीर खतरा ठानेर कुनै पनि संलग्नलाई नछोड्ने प्रहरीको भनाइ छ। यो घटनाले सीमा क्षेत्रमा नक्कली मुद्राको ओसारपसार बढ्दै गएको र निर्वाचन समयमा यसलाई रोक्न दुवै देशको सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको देखाउँछ। थप अनुसन्धान जारी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?