बिहारको सिवानमा प्रहरी अधिकारीको गला रेटी हत्या
4 दिन पहिले प्रकाशित
एजेन्सी, कार्तिक १३ गते । बिहार राज्यको सिवान जिल्लामा चुनावी माहोलबीच एक प्रहरी अधिकृत (दारोगा) को बेरहमीपूर्वक हत्या गरिएको छ। दरौंदा थानामा कार्यरत सहायक प्रहरी निरीक्षक (एएसआई) अनिरुद्ध कुमारको गला रेटी हत्या भएपछि स्थानीयवासीदेखि प्रहरी प्रशासनसम्म सनसनी फैलिएको छ।
प्राप्त जानकारीअनुसार एएसआई अनिरुद्ध कुमार छठ पर्वका अवसरमा आफ्ना परिवारसँग दरभंगा गएर घरमा पूजा गरेपछि सिवान फर्किँदै थिए। उनी परिवारलाई घरमा छोडेर कार्यालयतर्फ फर्किने क्रममा रहस्यमय परिस्थितिमा हराएका थिए। पछि दरौंदा क्षेत्रअन्तर्गत सिरसांव नवका टोलको अरहर खेतमा उनको शव फेला परेको प्रहरीले पुष्टि गरेको छ।
हत्या अत्यन्तै क्रुर ढंगले गरिएको खुलेको छ। अपराधीहरूले पहिले अनिरुद्धको हात र खुट्टा बाँधेर कुटपिट गरेपछि धारिलो हतियारले उनको गला रेटी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनास्थलबाट केही प्रमाणहरू फेला परेका छन्, जसको आधारमा प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ।
अनिरुद्ध कुमारको शव सिभिल ड्रेसमै फेला परेकोले प्रहरीले यसलाई योजनाबद्ध हत्या भएको आशंका गरेको छ। अनुसन्धान टोलीले उनी कुनै सूचनाको आधारमा एक्लै बाहिर निस्किएको वा कसैले जालमा फसाएर बोलाएको हुनसक्ने अनुमान गरेको छ। हाल सिवान प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान थालेको र दोषीहरूलाई चाँडै पक्राउ गर्ने प्रतिबद्धता जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments