"वाह डाक्टर बाबू! लाइसेन्स त ओपीडीको, तर काम चाहिँ सर्जरीसम्म – बिरामी अपरेशन थिएटर पसेपछि..."

19 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार २६ गते । भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाको सीमावर्ती क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेको निजी अस्पताल र क्लिनिकमाथि प्रशासनले कारबाही थालेको छ। सोही क्रममा परिहार प्रखंड मुख्यालयमा रहेको राज अस्पताल लाई प्रशासनले सिल गरेको छ। अस्पतालसँग मात्र ओपीडी सञ्चालनको अनुमति भए पनि त्यहाँ शल्यक्रिया (सर्जरी) हुँदै आएको खुलेको छ।

सिविल सर्जन डा. अखिलेश कुमार र एसीएमओ डा. जेड. जावेदको नेतृत्वमा गरिएको अनुगमनमा अस्पतालमा गम्भीर अनियमितता भेटिएको थियो। अस्पतालमा न त एमबीबीएस चिकित्सक थिए, न सर्जन, न एनेस्थेसिया विशेषज्ञ र न त प्रशिक्षित नर्सहरू नै। अस्पताल एक आयुष चिकित्सक दम्पतीले सञ्चालन गरिरहेका थिए, जुन पूर्ण रूपमा नियमविपरीत हो।

जाँचको समयमा चार जना बिरामी अस्पतालमा भर्ना अवस्थामा भेटिए, जसको हालै मात्र शल्यक्रिया गरिएको थियो। तिनीहरूलाई सीतामढी सदर अस्पताल वा परिहार पीएचसीमा सार्न प्रशासनले प्रयास गर्‍यो तर बिरामीहरूले स्थानान्तरण हुन अस्वीकार गरे। अहिले ती चारै जना एउटै कोठामा राखिएका छन् भने अपरेशन थियेटरसहित अन्य सबै कोठा सिल गरिएको छ।

कारबाहीको खबर फैलिनासाथ धेरै नक्कली नर्सिङ होमका सञ्चालकहरू ताला लगाएर फरार भएका छन्। अनुगमन टोलीमा डुमरा र परिहारका प्रभारी चिकित्सा पदाधिकारी पनि सहभागी थिए। यो कारबाही जिल्ला पदाधिकारी ऋची पाण्डेयको निर्देशनमा गरिएको हो। प्रशासनले अब सीमावर्ती क्षेत्रका सबै अवैध नर्सिङ होम, क्लिनिक र प्रयोगशालामाथि छिट्टै कडा कारबाही गरिने संकेत दिएको छ।

स्थानीयहरूले व्यंग्यमा भन्न थालेका छन् – “वाह डाक्टर बाबू! लाइसेन्स त ओपीडीको मात्र लिएका, तर बिरामी सीधा OT पुग्थे।” अहिले यो घटना सार्वजनिक भएपछि सीमावर्ती क्षेत्रमा चलिरहेका यस्ता नक्कली अस्पतालहरूको जाँच कडाईका साथ हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?