रौतहटमा बसको ठक्करबाट तीन जनाको मृत्यु

3 वर्ष पहिले प्रकाशित

भदौ २ गते । रौतहटमा बसको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुरमा बिहीबार बिहान बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो ।

चन्द्रपुर नगरपालिका २ अन्र्तगत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३-००१ख२०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ह२१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलबहादुर बुढा मगरले जानकारी दिए ।

अटोमा सवार रहेका चारमध्ये तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही २ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको उनले बताए ।

दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छिन् । उनलाई उपचारका लागि वीरगञ्ज लगिएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?