प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्य मन्त्रालयले आईसीयू र भेन्टिलेटर गराए उपलब्ध

4 वर्ष पहिले प्रकाशित

साउन १७ गते । महोत्तरीको बर्दिबासमा आईसीयू र भेन्टिलेटरको अभावमा सर्पदंशका गम्भीर विरामीको मृत्यु भएपछि प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्य मन्त्रालयले आईसीयू र भेन्टिलेटर उपलब्ध गराएको छ ।

बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईसीयू र भेन्टिलेटर उपलब्ध गराएको हो ।

आईसीयू र भेन्टिलेटर नहुँदा केन्द्रमा सर्पदंशका गम्भीर अवस्थाका बिरामीले अकालमा ज्यान गुमाइरहेका छन्।

लामो समयदेखि स्थानीयहरुले केन्द्रमा भेन्टिलेटरसहित उपचारको व्यवस्था गर्न माग गरिरहेका थिए।

दुई दिनअघि पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर केन्द्रको लागि भेन्टिलेटर माग गरेका थिए ।

बर्दिवास नगरपालिकाले समेत गत वर्ष नै भेन्टिलेटर माग गर्दै स्वास्थ्य विभागलाई पत्रचार गरेको थियो।

स्वास्थ्य विभागले प्रधानमन्त्री देउवाको निर्देशनमा करिब २६ लाख रुपैयाँ मूल्य बराबरको भेन्टिलेटर सोमबार बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीलाई हस्तान्तरण गरेको हो।

गत शनिवार विषालु सर्पको टोकाइबाट बर्दिबास नगरपालिका–४ मा पब्लिक स्कुलका प्रिन्सिपल युवराज श्रेष्ठको मृत्यु भएको थियो।

उनलाई सर्पले टोक्नेबित्तिकै सर्पदंश उपचार केन्द्रमा लगिए पनि भेन्टिलेटर अभावमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?