धनुषामा १४ वर्षीया बालिका पटकपटक बलात्कृत

4 वर्ष पहिले प्रकाशित

साउन १३ गते ।धनुषामा एक १४ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरी गर्भवती बनाएको घटना सार्वजनिक भएको छ । धनुषाको मिथिला नगरपालिका–९ बेंगाडावरमा बलात्कृत बालिकाका अभिभावकले आरोपितविरुद्ध प्रहरीमा उजुरी दिएपछि उक्त घटना बाहिरिएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरमा दिएको जाहेरीका आधारमा बिहीवार बलात्कार आरोपित स्थानीय ५९ वर्षीय सोमबहादुर घिसिङ्गलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गत वैशाख ५ गते खर्साङ्गे डाडा सामुदायिक वनमा बाख्रा चराउन गएकी ती बालिकालाई आरोपित घिसिङ्गले ललाई फकाई जबरजस्ती करणी गरेको थियो ।

बलात्कृत बालिकालाई आरोपित घिसिङ्गले विभिन्न किसिमको डरत्रास देखाएर पटकपटक जबरजस्ती करणी गर्दै आएको उजुरीमा भनिएको छ ।

घटनाको तीन महिनापछि शुक्रवार पीडित पक्षले बलात्कार आरोपित विरुद्ध प्रहरीमा जाहेरी दिएको छ । बलात्कृत बालिका गर्भवतीसमेत रहेको ती घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

बालिकाका बुवाले प्रहरीमा दिएको जाहेरीको आधारमा आरोपित घिसिङ्गलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंंहले बताए । उनले आरोपित घिसिङ्गलाई जबरजस्ती करणी मुद्दामा शुक्रबार धनुषा जिल्ला अदालतबाट म्याद थप गराउने जानकारी दिए ।

बलात्कृत बालिकाको शुक्रबार स्वास्थ्य परिक्षण गराईने र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?