मधेस प्रदेशमा बैँक तथा वित्तीय संस्थाको २ खर्बभन्दा बढी कर्जा पर्सामा

4 वर्ष पहिले प्रकाशित

असार २९ गते ।मधेस प्रदेशमा बैँक तथा वित्तीय संस्थाहरूले २ खर्बभन्दा बढीको कर्जा प्रवाह गरेको छ। नेपाल राष्ट्र बैँकको आव २०७८/७९ को अर्ध(वार्षिक प्रतिवेदन अनुसार यस प्रदेशमा बैँक तथा वित्तीय संस्थाले २ अर्ब ७ अर्ब ५ करोड कर्जा प्रवाह गरेको छ। जसमध्ये पर्सामा सबैभन्दा बढी कर्जा प्रवाह गरिएको छ।

पर्सामा बैक तथा वित्तीय संस्थाले ३८.८३ प्रतिशत कर्जा प्रवाह गरेको छ। नेपाल राष्ट्र बैँकको पछिल्लो तथ्यांक अनुसार बैँक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरेकोमध्ये उद्योग क्षेत्रमा १ खर्ब १२ अर्ब ३४ करोड, कृषि तर्फ ५० अर्ब १ करोड र सहुलियत तर्फ ४४ अर्ब ७० करोड कर्जा प्रवाह गरेको छ।

बैँक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा सबैभन्दा बढी लगानी गरेका छन्। तीमध्ये पनि गैर खाद्यवस्तु उत्पादनतर्फ ५१.६९ प्रतिशत कर्जा प्रवाह गरेको तथ्यांक छ। बैँक तथा वित्तीय संस्थाले गैरखाद्यवस्तु उत्पादन उद्योगतर्फ ५१ प्रतिशत कर्जा प्रवाह गरेको छ।

यस्तै, कृषि(वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ २५.६० प्रतिशत, निर्माण उद्योगतर्फ १४.३०, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुको सामान उत्पादनतर्फ ६।९० प्रतिशत, खानी उद्योगतर्फ १.११ प्रतिशत र विद्युत ग्यास तथा पानी उद्योगतर्फ ०.४० प्रतिशत कर्जा प्रवाह गरेको छ।

राष्ट्र बैँकको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष निर्माण उद्योगतर्फको कर्जामा ११.३४ प्रतिशत र विद्युत ग्यास तथा पानीतर्फको कर्जामा ७.५९ प्रतिशतले ह्रास आएको छ।

धातु उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उत्पादन, खानीसम्बन्धी उद्योग, गैरखाद्यवस्तु उत्पादनतर्फको कर्जामा वृद्धि भएको हो। कोडिभ-१९ को प्रकोप सामान्य भएपछि औद्योगिक क्षेत्रको गतिविधि र उत्पादन वृद्धि तथा बजार माग वृद्धि भएको राष्ट्र बैँकको ठम्याइ छ।

बैँक तथा वित्तीय संस्थाको उद्योगतर्फ ६१ प्रतिशतभन्दा बढी लगानी पर्सामा

बैँक तथा वित्तीय संस्थाले उद्योग क्षेत्रतर्फ १ खर्ब १२ अर्ब ३४ करोड कर्जा प्रवाह गरेको छ। जसको ६१.४५ प्रतिशत लगानी मधेस प्रदेशको पर्सा जिल्लामा मात्र छ।

बैँक तथा वित्तीय संस्थाले पर्सामा ६९ अर्ब ४ करोड लगानी गरेको छ। यस्तै, धनुषामा १०।०९ प्रतिशत कर्जा प्रवाह गरिएको छ। धनुषा जिल्लामै मधेस प्रदेशको राजधानी रहेको छ। बैँक तथा वित्तीय संस्थाले धनुषामा ११ अर्ब ३३ करोड कर्जा प्रवाह गरेको छ।

यस्तै, महोत्तरीमा ६ अर्ब ८१ करोड, सर्लाहीमा ६ अर्ब, सिरहामा ५ अर्ब ८४ करोड, बारामा ५ अर्ब ७५ करोड, रौतहटमा ४ अर्ब ७३ करोड र सप्तरीमा २.५३ प्रतिशत अर्थात २ अर्ब ८४ करोड कर्जा प्रवाह गरेको छ।

कृषितर्फ ५० अर्ब कर्जा प्रवाह

कृषिका लागि सातवटै प्रदेशहरूमध्ये उत्कृष्ट रहेको मधेस प्रदेशमा बैक तथा वित्तीय संस्थाले ५० अर्ब १ करोड लगानी गरेको राष्ट्र बैँकको तथ्यांक छ। गत वर्षको तुल्नामा यस वर्ष सो अवधिमा ४३.५३ प्रतिशतले कृषि कर्जा बढेको छ।

कृषि कर्जा पर्सामा सबैभन्दा बढी प्रवाह भएको हो। यहाँ प्रदेशमा प्रवाह भएको कुल कर्जाको १७.७० प्रतिशत अर्थात ८ अर्ब ८५ करोड कर्जा प्रवाह भएको छ। पर्सापछि सर्लाहीमा १६.३ प्रतिशत अर्थात ६ अर्ब ७३ करोड कर्जा प्रवाह भएको छ।

सिरहामा १३.७४ प्रतिशत अर्थात ६ अर्ब ८७ करोड, धनुषामा ६ अर्ब ७३ करोड, बारामा ५ अर्ब ९३ करोड, रौतहटमा ५ अर्ब १० करोड, महोत्तरीमा ४ अर्ब ७० करोड र सप्तरीमा सबैभन्दा कम ३ अर्ब ६८ करोड कृषि कर्जा प्रवाह भएको हो।

सहुलियतपूर्ण कर्जामा वृद्धि

मधेस प्रदेशमा सहुलियतपूर्ण कर्जामा वृद्धि भएको छ। बैँक तथा वित्तीय संस्थाले हाल मधेस प्रदेशमा ४४ अर्ब ७० करोड कर्जा प्रवाह गरेको छ। सोही अवधिमा यस्तो कर्जा गत वर्ष ८ अर्ब ५७ करोड मात्र प्रवाह भएको थियो।

नेपाल राष्ट्र बैँकको निर्देशन बमोजिम बैँक तथा वित्तीय संस्थाले सो कर्जा प्रवाह गर्दा अन्य कर्जा जस्तै सहुलियतपूर्ण कर्जामा वृद्धि भएको राष्ट्र बैँकले जनाएको छ।

मधेस प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जामध्ये धनुषामा सबैभन्दा बढी कर्जा प्रवाह भएको हो। धनुषामा ५८.४४ प्रतिशत अर्थात २६ अर्ब ११ करोड कर्जा प्रवाह भएको छ। सप्तरीमा सहुलियतपूर्ण कर्जा सबैभन्दा कम प्रवाह भएको हो। यहाँ ९७ करोड कर्जा मात्र प्रवाह भएको हो।

यस्तै, सिरहामा ५ अर्ब ७१ करोड, सर्लाहीमा ३ अर्ब ६० करोड, बारामा २ अर्ब ५३ करोड, पर्सामा २ अर्ब ५० करोड, महोत्तरीमा १ अर्ब ८४ करोड र रौतहटमा १ अर्ब ४४ करोड कृषि कर्जा प्रवाह भएको राष्ट्र बैँकको तथ्यांक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?