धनुषामा झण्डै ८० नेपाली किसानको १५ विघा जग्गा भारतीयले गरे कब्जा
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत २ गते । नेपालकै सबैभन्दा होँचो ठाउँ हो धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका । सोही गाउँपालिकाको वडा नं। २ का भिखारी यादवको १५ कठ्ठा जग्गा दशगजासंगै टाँसिएको छ । जमुनी नदी पारी नेपालमै सो जग्गा पर्छ । जग्गा खोला किनारमा पर्छ । जग्गाको लालपूर्जा छ । उसले मालपोत कर पनि तिर्दै आएका छन् । तर, एक दशकदेखि जग्गा उब्जाउनबाट भने उनी बञ्चित छन् । कारण हो, भारतीयले उनको जग्गा नै कब्जा गरेका छन् ।नेपाली किसानको जग्गामा उनीहरुले बाली लगाउँदै आएका छन् । यसले भिखारीको परिवारको गाँस नै खोसिएको छ । भारतीयले जग्गा कब्जा गरेदेखि १८ जना सदस्यको परिवारको लालपालन ज्याला मजदुरी गरेर गर्दै आएका छन् ।
पहिला नदी वारी उनको जग्गा थियो । खोलाले धार परिवर्तन गर्दा खोलापारी त्यो जग्गा पुग्यो । तर, त्यो पनि नेपालकै भूमि रहेको किसानहरु बताउँछन् । भिखारी जस्ता दर्जनौ किसानको पीडा उस्तै छ ।‘८ वर्ष अघिसम्म त्यही जग्गामा ७०–८० मन धान गहुँ फलाउँथे । खेतीपाती गरेरै परिवारको जोहो गर्थे’, उनले विगत भिखारी भन्छन्,‘ जमुनी नदीले धार परिवर्तन गरे यता हाम्रो दुदर्शा छ । मेरो जग्गा भारतीयले कब्जा गरेका छन् । हलो चढाउँदा भारतीय एसएसबीले आएर अवरोध गर्छन् । हाम्रो शसस्त्र प्रहरी मुकदर्शक बन्छन् । कसैले केहि पहल गरेका छैनन् ।’
भिखारीको छेउमै जमुनी नदी किनारमा एक बिघा ९२०० कठ्ठा जग्गा स्थानीय जीवछ यादवको पनि छ । उनको समस्या पनि भिखारी यादव जस्तै छ । १० वर्षदेखि आफ्नै जग्गामा उनले हलो चढाउन पाएका छैनन् । १५ जनाको उनको परिवार छ । अन्य दुई कठ्ठा घडेरी बाहेक अन्य जग्गा छैन ।‘जमुनी नदीले जग्गा कटान गरेर पारी पुर्याउँदा भारतीयले खोसे । त्यही जग्गामा खेतीपाती गरेर मेरो परिवार चल्थ्यो । उब्जाउन नपाउँदा खाद्य संकट छ’, उनले जग्गाको लालपूर्जा देखाउँदै भने, ‘तर जग्गामा जोतभोग गर्न नपाउँदा जन,मजदुरी गरेर जेनतेन मेरो परिवार चल्छ ।’
भिखारी र जीवछ उदाहरण पात्र मात्र हुन् । उनीहरु जस्तै स्थानीय सहदेव यादवको ७ कठा, राजो सहनीको १० कठा, बहादुर सहनीको ५ कठा जग्गा छन् । त्यस्तै रामदयाल मुखिया, सुरज मुखिया, रिझन यादव, भोला यादव, किसुनदेव यादव लगायत ७०–८० जना नेपालीको १५ विघा भन्दा बढी जग्गा भारतीयले कब्जा गरेको वडा नं। २ का वडाध्यक्ष नरेश यादव बताउँछन् ।
‘जग्गा हाम्रो, लालपूर्जा हाम्रो । तर भारतीयले उब्जाउँछन् । हाम्रो वडाको करिब ७०–८० जना नेपालको जग्गा भारतीले कब्जा गरेका छन् । उब्जाउन दिँदैन ।’ वडाध्यक्ष यादवले भने ‘यस विषयमा म आफ्नो स्तरबाट थुप्रै प्रयास गरे । तर भारतीयले ठूला देशको घमण्डमा हामीलाई हेपिरहेका छन् ।‘एसएसबी जहिले पनि भारतीय किसानलाई हाम्रो जग्गा कब्जा गरेर बाली उब्जाउन सहयोग गर्ने गरेको उनको भनाइ छ । तर, सशस्त्र प्रहरीले नेपालीलाई सहयोग नगरेको वडाध्यक्ष यादवले गुनासो गरे ।
जग्गाको विषयलाई लिएर बेला बेला एसएसबीले नेपालीलाई हेप्ने, गाली गर्ने, लखेट्ने जस्ता कार्य गरिरहेको स्थानीय बताउँछन् । त्यति मात्र होइन आफ्नै भूमिको नदीको वारी र पारी जान झोलंगे पुल समेत एसएसबीले निर्माण गर्न दिइरहेका छैनन् ।
झोलंगे पुलको लागि शिलान्यास गरिएको छ । तर, एसएसबीले किन पुल चाहियो भनेर बनाउन नदिएको वडाध्यक्ष यादवले बताए ।स्थानीयका अनुसार नेपाल भारत २८९ नम्बर सीमा स्तम्भ नजिक १० वर्ष अघि सीमा भएर बग्ने जमुनी नदीले धार परिवर्तण गरेको थियो ।भिखारी र जीवछ यादव लगायतका नेपालीको जमिनलाई पारी बनाइ दियो । बाढीले सीमा स्तम्भ पनि बगायो । तीन वर्ष अघि सीमा स्तम्भहरु गाडियो । तर नेपाली भूमिमा च्यापेर गाडेको स्थानीय मनोजकुमार यादव बताउँछन् । सीमा स्तम्भ गाड्ने बेला स्थानीय नेपालीले विरोध समेत गरेका थिए । तर, नेपालकै सरकारी अधिकारी र सशस्त्र प्रहरीले नक्सामा यस्तै छ भन्दै मिचेर गाड्न दिएको नरेशकुमारको भनाइ छ ।
‘पिलर गाड्ने बेलामा हामीले जोडदार विरोध गर्यौ । गाड्न दिइरहेका थिएनौं । तर नेपाली अधिकारी र सशस्त्र प्रहरीले नै नक्सामा यस्तै छ भनेर गाड्न दियो । हामी चुप लाग्नुको बिकल्प रहेन ।’ उनले भने ।जुन नेपालीको जमिन नेपालमै छ तिनीहरु जमिन भारतीयले खोसेका छन् । तर, नेपालकै भूमिमा पर्ने भारतीयले निर्वाद रुपमा आफ्ना जग्गामा खेतीपाती गरेर फसल लग्छन् ।
‘हाम्रै देशमा भएको जग्गा भारतीयले उब्जाएर लग्छन् । हाम्रा किसान मुकदर्शक हुनुपर्छ । तर, जमुनी नदीले नेपाल तर्फको भारतीयको जग्गामा उनीहरु निर्वाद रुपमा खेतीपाती गर्छन् ‘वडा नं। ५ का वडा सदस्य दिनेश यादवले भने ।दुवै देशबीच कुटनीतिक पहल गरी यसको समस्या समाधान गर्नुपर्ने स्थानीयको माग छ । सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख ९डिआइजी० गणेश ठाडा मगरले यो विषयमा जग्गा खेसिएका भनिएका पीडितहरुले निवेदन दिनुपर्ने बताए ।
‘कसको जग्गा हो, कति जग्गा हो, कुन ठाउँमा छ रु ती व्यक्तिहरुले व्यबहोरासहिको निवेदन दिनुपर्छं । त्यस विषयमा सिडिओ साहेबको अध्यक्षतामा बैठक बसेर, केन्द्रसंग प्राविधिक टोलि राखेर, भारतीय पक्षको पनि टोलि राखेर नापजाँच गर्नु पर्छ ’, डिआइजी मगरले भने । जग्गा कसको हो भनेर पुष्टि भइसकेपछि हात नहाल्न भारतीयलाई चेतावनी दिने उनको भनाइ छ ।
यता धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस विषयमा बुझेर मात्र केहि भन्न सक्ने बताए ।
कमेन्ट गर्नुहोस्
view comments