जटहीमा निर्माणाधिन बाल अस्पतालको काम अविलम्ब सुचारु गर्न मुख्यमन्त्रीलाई ध्यानाकर्षण
4 वर्ष पहिले प्रकाशित
फागुन २२ गते ।
धनुषाको जटहीमा शहीद दुर्गानन्द झाको नाममा निर्माणाधिन बाल अस्पतालको काम अविलम्ब सुचारु गर्नुपर्ने भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नगरपालिकाको कमिटीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ध्यानाकर्षण गराएको छ ।
लोसपाको नगराइन नगरपालिका कमिटीले गत आर्थिक वर्षमा शहीद दुर्गानन्द झा स्मृति अस्पतालको निर्माण कार्यको ६० प्रतिशत काम गरिएपनि त्यसपछि कामै ठप्प भएकाले ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको हो ।
लोसपाको नगराइन नगरपालिकाका अध्यक्ष नवलकिशोर झा नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
सामाजिक विकास मन्त्रालयले अस्पातलको आकस्मिक कक्ष तथा ल्याव ब्लक निर्माणका लागि १ करोड ७० लाख १६ हजार ७४६ रुपैयाँको अनुमानित लागत सहित बोलपत्र समेत आह्वान गरेको थियो । सोही बोलपत्रको आधारमा लागेको ठेक्का मार्फत ६० प्रतिशत काम सम्पन्न भई सकेको ज्ञापन पत्रमा उल्लेख छ ।
चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा अस्पताललाई ५० शैय्याको बाल अस्पतालको रुपमा विकास गर्ने उल्लेख रहेपनि त्यस अनुरुप बोलपत्र आह्वानको प्रकृयासम्म शुरु हुन नसकेकोमा स्थानीयमा आक्रोश रहेको लोसपाका युवा नेता राजु चौधरीले बताए ।अस्पतालको बाँकी निर्माण कार्य अविलम्ब शुरु नगरिए त्यहाँका स्थानीय आन्दोलित हुन सक्ने चेतावनी समेत ज्ञापन पत्र मार्फत दिइएको छ ।
यता ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले अस्पताल निर्माण कार्य पूरा गर्ने अभिभारा प्रदेश सरकारको रहेको र यसमा प्रदेश सरकार चुकेको स्वीकार गरे । उनले अस्पतालको निर्माण कार्य चाँडै नै शुरु गरिने प्रतिवद्धता व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
view comments