विद्यालय तहमा थपिँदै आठ नयाँ पाठ्यक्रम, कुल संख्या तीन सय नाघ्ने
15 घन्टा पहिले प्रकाशित
काठमाडौं, श्रावण १९ गते । विद्यालय तह (कक्षा १ देखि १२ सम्म) मा थप आठ वटा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गरिएको छ। पाठ्यक्रमको मस्यौदा तयार गरी स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ। नयाँ पाठ्यक्रम थपिएसँगै विद्यालय तहका लागि तयार गरिएका पाठ्यक्रमको संख्या तीन सयभन्दा बढी पुग्ने भएको छ।
शिक्षामन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले आठ वटा नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गरेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक तथा परिषद्का सदस्यसचिव युवराज पौडेलले जानकारी दिनुभयो। कानुनी व्यवस्थाअनुसार परिषद्बाट सिफारिस गरिएपछि मन्त्रालयबाट अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ।
नयाँ पाठ्यक्रमअन्तर्गत आधारभूत शिक्षा (कक्षा ६–८) तर्फ मातृभाषा समूहअन्तर्गत अवधि र मगर ढुट विषय समेटिएका छन्। माध्यमिक शिक्षा (कक्षा ९–१०) का लागि जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र विषय तथा कक्षा ११–१२ का लागि संवैधानिक कानुन, देवानी तथा फौजदारी कानुन र न्याय, कार्यविधि कानुन, कानुनी मस्यौदा तथा विधिशास्त्र एवं नेपाली कानुनी प्रणाली विषयका पाठ्यक्रम सिफारिस गरिएको छ।
मन्त्रालयबाट स्वीकृति पाएपछि यी पाठ्यक्रम विद्यालय तहमा कार्यान्वयनको प्रक्रिया अघि बढाइनेछ। पाठ्यक्रम विकास केन्द्रका अनुसार विज्ञ तथा सरोकारवालाको सुझाव र मागका आधारमा नयाँ पाठ्यक्रम निर्माण गरिन्छ। तर निर्माण गरिएका सबै पाठ्यक्रम भने विद्यालयमा प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्।
केन्द्रका सूचना अधिकारी पुरुषोत्तम घिमिरेका अनुसार कतिपय पाठ्यक्रममा विद्यार्थीको अभाव, विषय पढाउने जनशक्तिको कमी तथा अन्य व्यावहारिक समस्याका कारण कार्यान्वयन हुन नसकेको हो। एउटै विषयको पनि कक्षा र तहअनुसार फरक–फरक पाठ्यक्रम बनाउनुपर्ने भएकाले विद्यालय तहमा पाठ्यक्रमको संख्या धेरै देखिएको उहाँले बताउनुभयो।
कमेन्ट गर्नुहोस्
view comments