छात्रालाई अश्लील म्यासेज पठाएको आरोपमा सुकुना माविका शिक्षकसहित तीन जना पक्राउ

20 घन्टा पहिले प्रकाशित

  • मोरङको सुन्दरहरैंचास्थित विद्यालयका छात्रालाई आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
  • घटनाबारे थप अनुसन्धान भइरहेको छ।

जनकपुरधाम, श्रावण ४ गते ।  मोरङको सुन्दरहरैंचा नगरपालिका–१० खोर्सानेस्थित सुकुना माध्यमिक विद्यालयका छात्रालाई अश्लील म्यासेज पठाएको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैंचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैंचा–२ का ३० वर्षीय शिक्षक किशोरलाल गच्छदार र सुन्दरहरैंचा–१२ का ३५ वर्षीय शिक्षक अविरल मास्के रहेका छन्।

विद्यालयका विद्यार्थीहरूले घटनाको विरोधमा प्रदर्शन गर्ने तयारी गरेपछि प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा छात्राहरूलाई अश्लील सन्देश पठाउने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको र पक्राउ परेकाविरुद्ध जाहेरी आउने प्रक्रियामा रहेको जनाएको छ। अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता देखिए कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?