मेटाले एआई स्मार्ट चस्मामा नयाँ प्रविधि ल्याउँदै, गोपनीयतामाथि बढ्यो चिन्ता
9 घन्टा पहिले प्रकाशित
एजेन्सी, असार २५ गते । सामाजिक सञ्जाल कम्पनी मेटाले नयाँ पुस्ताको एआई स्मार्ट चस्मा विकास गरिरहेको छ। सार्वजनिक विवरणअनुसार यो चस्माले फोटो वा भिडियो खिच्ने मात्र नभई वरपरको दृश्य र आवाजलाई निरन्तर विश्लेषण गरी कृत्रिम बुद्धिमत्ता (एआई)को सहयोगमा प्रयोगकर्तालाई व्यक्तिगत जानकारी उपलब्ध गराउनेछ। प्रयोगकर्ताले दिनभर देखेका वस्तु, सुनेका कुराकानी वा अन्य अनुभवबारे चस्मासँग सोधेर जानकारी लिन सक्नेछन्।
नयाँ प्रविधिसँगै गोपनीयताको विषयमा भने गम्भीर चासो व्यक्त हुन थालेको छ। हाल प्रयोगमा रहेका Ray-Ban Meta Smart Glasses मा रेकर्डिङ हुँदा एलईडी बत्ती बल्ने व्यवस्था भए पनि नयाँ मोडेलमा निरन्तर रेकर्डिङका बेला उक्त संकेत बन्द गर्ने सम्भावनाबारे चर्चा भइरहेको छ। यस्तो भए वरपरका व्यक्तिलाई आफू रेकर्ड भइरहेको जानकारी नहुने भएकाले सहमति र व्यक्तिगत गोपनीयतामाथि प्रश्न उठ्ने विज्ञहरूको भनाइ छ।
मेटाले अधिकांश डाटा प्रोसेसिङ सिधै डिभाइसमै गर्ने र आवश्यक मेटाडाटा मात्र सर्भरमा पठाउने प्रणाली विकास गरिरहेको बताइएको छ। साथै, यही ‘सुपर–सेन्सिङ’ फिचर सफ्टवेयर अपडेटमार्फत हाल प्रयोगमा रहेका Ray-Ban Meta Smart Glasses मा पनि उपलब्ध गराउने सम्भावना रहेको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments