नेपालमा एआईबाट तत्काल रोजगारी संकट नदेखिए पनि चुनौती बढ्दै

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २१ गते ।  विश्व बैंकले सार्वजनिक गरेको ‘विश्व विकास प्रतिवेदन २०२६ : द प्रमिस अफ आर्टिफिसियल इन्टेलिजेन्स’ ले नेपालजस्ता न्यून आय भएका देशमा कृत्रिम बुद्धिमत्ता (एआई) का कारण तत्काल ठूलो रोजगारी संकट नआउने देखाएको छ। प्रतिवेदनअनुसार विकसित देशमा ३३ प्रतिशतभन्दा बढी रोजगारी एआईबाट प्रभावित हुन सक्ने भए पनि नेपालमा यस्तो जोखिम करिब १० प्रतिशत मात्रै छ। कृषि, निर्माण, साना व्यवसाय र शारीरिक श्रममा आधारित काम धेरै भएकाले तत्काल ठूलो असर नपर्ने उल्लेख गरिएको छ। तर सूचना प्रविधि, वित्तीय सेवा, बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ), डेटा इन्ट्री, ट्रान्सक्रिप्सन तथा डिजिटल सेवामा एआईको प्रभाव देखिन थालेको छ। दक्षिण एसियामा च्याटजिपिटी सार्वजनिक भएपछि नयाँ रोजगारीका विज्ञापन १.६ प्रतिशतले घटेको, बौद्धिक तथा कार्यालयमुखी रोजगारीको माग करिब २० प्रतिशतले खस्किएको तथा एआईले गर्न सक्ने आउटसोर्सिङका काम सन् २०२५ मा ३९ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले एआईलाई रोजगारीको शत्रु नभई अवसरका रूपमा पनि व्याख्या गरेको छ। विकासशील देशका करिब १६.२ प्रतिशत रोजगारी एआईका कारण विस्थापित नभई अझ प्रभावकारी बन्ने अनुमान गर्दै स्वास्थ्य, शिक्षा, कृषि र सार्वजनिक सेवामा उत्पादकत्व बढ्ने जनाएको छ। तर त्यसका लागि डिजिटल पूर्वाधार, भरपर्दो विद्युत्, गुणस्तरीय इन्टरनेट र दक्ष जनशक्ति आवश्यक रहेको विश्व बैंकको निष्कर्ष छ। नास–आइटीका अध्यक्ष गौरव पाण्डेका अनुसार नेपालमा एआईको प्रभाव हाल पाँचदेखि १० प्रतिशतसम्म मात्रै देखिएको छ र अधिकांश काम अझै मानवीय श्रममा आधारित छन्। उनले सरकारले डिजिटल पूर्वाधार र सीप विकासमा लगानी बढाए एआई नेपालका लागि चुनौतीसँगै ठूलो अवसर बन्न सक्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?