सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, तीन दिनभित्र विवरण अद्यावधिक गर्न निर्देशन

12 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ २२ गते । सरकारले लामो समयदेखि सम्पर्कविहीन रहेका तथा अभिलेख अद्यावधिक नगरेका निजामती कर्मचारीहरूको खोजी प्रक्रिया अघि बढाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिदा अवधि सकिएपछि पनि कार्यालयमा नियमित रूपमा हाजिर नभएका, अध्ययन बिदा वा असाधारण बिदामा रहेका तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण (पीआईएस) अद्यावधिक नभएका कर्मचारीहरूलाई तीन दिनभित्र विवरण अद्यावधिक गर्न सूचना जारी गरेको हो।

मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय कार्यालयहरूलाई अध्ययन वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा समाप्तिपछि हाजिर भए–नभएको अवस्था र अन्य आवश्यक अभिलेख राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी अद्यावधिक गर्न निर्देशन दिएको छ। तोकिएको अवधिभित्र कार्यालयको सम्पर्कमा नआए वा विवरण अद्यावधिक नगरे सम्बन्धित कर्मचारीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?