माइकल ज्याक्सन बायोपिक ‘माइकल’ ले बक्सअफिसमा नयाँ रेकर्ड बनायो
5 घन्टा पहिले प्रकाशित
एजेन्सी, बैशाख १५ गते । हलिउड बक्सअफिसमा नयाँ ‘राजा’ को उदय भएको छ। पप सम्राट माइकल ज्याक्सन को जीवनमा आधारित बायोपिक फिल्म ‘माइकल’ ले प्रदर्शनको पहिलो सातामै ठूलो सफलता हात पारेको छ।
फिल्मले पहिलो सप्ताहन्तमै अमेरिकामा करिब ९७ मिलियन डलर र विश्वभर २१७ मिलियन डलर कमाउँदै बायोपिक विधामा अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ। करिब २०० मिलियन डलर लागतमा बनेको यो फिल्मले रिलिजअघि गरिएको अनुमानभन्दा निकै बढी व्यापार गरेको हो। यसअघि ‘स्ट्रेट आउट्टा कम्टन’ र ‘बोहेमियन र्याप्सोडी’ जस्ता फिल्मको ओपनिङलाई यसले पछाडि पारेको छ।
एन्टोइन फुक्वा निर्देशित फिल्मले माइकल ज्याक्सनको बाल्यकालदेखि ‘ज्याक्सन ५’ हुँदै विश्वव्यापी स्टार बन्नेसम्मको यात्रा देखाउँछ। मुख्य भूमिकामा उनका भतिजा जाफर ज्याक्सन देखिएका छन्। तर समीक्षकहरूले फिल्मलाई मिश्रित प्रतिक्रिया दिएका छन्—रोटेन टोमाटोजमा केवल ३८ प्रतिशत सकारात्मक समीक्षा भए पनि दर्शकले भने निकै रुचाएका छन्। केही आलोचकले फिल्मले ज्याक्सनको विवादित पक्षलाई पर्याप्त रूपमा नसमेटेको टिप्पणी गरेका छन्।
बक्सअफिसमा हाल ‘माइकल’को दबदबा कायम रहेको छ भने अन्य फिल्महरू पछाडि परेका छन्। लगातार सफल फिल्महरूका कारण हलिउड बक्सअफिस फेरि सक्रिय बन्दै गएको विश्लेषण गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments