‘राम नाम सत्य’ ले लगानी सुरक्षित गर्ने संकेत

3 घन्टा पहिले प्रकाशित

काठमाडौं, बैशाख ९ गते । फिल्म राम नाम सत्य ले प्रदर्शनको दोस्रो सातामै लगानी सुरक्षित हुने बाटो लिएको निर्माणपक्षले जनाएको छ। चैत २७ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मले सोमबारसम्म घरेलु बक्स अफिसमा ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले जानकारी दिए। शनिबारसम्म चलचित्र विकास बोर्डको तथ्यांकअनुसार करिब २ करोड ८० लाख रुपैयाँ कमाइ भएको थियो। केही हलहरूको विवरण समयमै नजोडिएकाले वास्तविक व्यापार अझ बढी भएको शाहीको भनाइ छ।

निर्माता उपेन्द्र शाहीका अनुसार फिल्मले अमेरिकाबाहेक अन्य विदेशी बजारबाट ७० लाख रुपैयाँ आम्दानी गरिसकेको छ। अमेरिकामा अप्रिल २४ देखि २०० शोसहित प्रदर्शन हुने तयारी छ। यस्तै, निर्देशक माइकल चन्दले फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटललाई ७२ लाख रुपैयाँमा बिक्री गरिएको बताए। करिब ३ करोड रुपैयाँ बजेटमा बनेको यस फिल्मले घरेलु बक्स अफिस, विदेशी बजार र डिजिटल आम्दानी जोड्दा लगानी सुरक्षित हुने देखिएको छ। स्वेता विमली र उपेन्द्र शाहीको निर्माणमा बनेको फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनील थापा र प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?