सोनम कपुर र आनन्द आहूजाको परिवार विस्तार : दोस्रो सन्तानको रूपमा छोराको जन्म
8 घन्टा पहिले प्रकाशित
एजेन्सी, चैत्र १७ गते । बलिउड अभिनेत्री सोनम कपुर र उनका पति आनन्द आहूजा पुनः आमाबुवा बनेका छन्। सोनमले आइतबार दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन्। सोनम र आनन्दले इन्स्टाग्राममार्फत पोस्ट गर्दै दोस्रो सन्तान जन्मिएको जानकारी दिएका हुन्। पोस्टमा लेखिएको छ, ‘अत्यन्त कृतज्ञता र मायाले भरिएका हृदयसहित हामी मार्च २९, २०२६ मा हाम्रो छोराको आगमन भएको घोषणा गर्न पाउँदा निकै खुशी छौँ। हाम्रो परिवार अझै ठूलो भएको छ, र उसको आगमनले हाम्रो मन अत्यन्त खुशीले भरिएको छ।’
परिणीति चोपडा, करिना कपुर, रिया कपूर र हुमा कुरैशीसहित थुप्रै सेलिब्रेटीले यो दम्पतीलाई बधाई दिएका छन्। नवजात शिशुप्रति माया र शुभकामना व्यक्त गरिएको छ। फ्यानहरूले पनि सोनम र आनन्दलाई छोराको जन्मको अवसरमा शुभकामना दिएका छन्। सोनमको भेट आनन्दसँग सन् २०१५ मा फिल्म ‘प्रेम रतन धन पायो’ को प्रचारका क्रममा भएको थियो। उनका अनुसार, साथीहरूले उनलाई आनन्दका एक साथीसँग भेट गराउन चाहेका थिए, तर कुरा भने आनन्दसँगै बढी हुन थाल्यो। करिब दुई हप्ता लगातार सन्देश आदानप्रदान गरेपछि दुवै एकअर्काप्रति आकर्षित भएका थिए। पछि सन् २०१८ मा उनीहरूले विवाह गरेका थिए। यसअघि सन् २०२२ मा सोनम र आनन्दका पहिलो सन्तान वायुको जन्म भएको थियो। नोभेम्बर २०२५ मा सोनमले बेबी बम्पको तस्वीर सार्वजनिक गर्दै दोस्रो गर्भावस्थाको जानकारी दिएकी थिइन्। यसै वर्ष फेब्रुअरीमा उनीहरूले मुम्बईस्थित आफ्नै घरमा भव्य ‘बेबी सावर’ आयोजना गरेका थिए।
कमेन्ट गर्नुहोस्
view comments