‘सरके चुनर तेरी सरके’ गीत विवादमा नोरा फतेहीको थप्पर : वर्क परमिट रद्द गरी भारतबाट डिपोर्ट गर्ने माग
14 घन्टा पहिले प्रकाशित
एजेन्सी, चैत्र ९ गते । कन्नड फिल्म ‘केडी: द डेभिल’ को गीत ‘सरके चुनर तेरी सरके’ को अश्लील बोल र नोरा फतेहीको डान्सका कारण उत्पन्न विवाद अझ बढ्दै गएको छ। भारत सरकारले गीतलाई ब्यान लगाइसकेको छ भने राष्ट्रिय महिला आयोग र सेन्सर बोर्ड पनि कारबाहीमा सक्रिय छन्। अब १० वकिलहरूको टोलीले गृह मन्त्रालयमा पुगेर क्यानाडाली मूलकी नोरा फतेहीको वर्क परमिट रद्द गरी उनलाई भारतबाट डिपोर्ट गर्ने माग गरेको छ। वकिलहरूले गीतलाई ‘अत्यन्त अश्लील, यौन उत्तेजक र महिलाको गरिमामाथि अपमानजनक’ बताउँदै विदेशी अधिनियम १९४६, पासपोर्ट (भारत प्रवेश) अधिनियम १९२०, भारतीय न्याय संहिता तथा सूचना प्रौद्योगिकी अधिनियम २००० को उल्लंघन भएको दाबी गरेका छन्।
गीत रिलिज भएलगत्तै सोसल मिडियामा ठूलो विवाद भएको थियो। नोरा फतेहीले सफाइ दिँदै भनेकी थिइन्, ‘मैले यो गीत तीन वर्षअघि कन्नड भाषामा शूट गरेकी थिएँ। मलाई बोलको अर्थ थाहा थिएन। हिंदी डब र बोल परिवर्तनमा मेरो कुनै भूमिका थिएन।’ उनले निर्देशकले आफूसँग अनुमति नलिई हिंदी संस्करण बनाएको र लन्च इभेन्टमा AI बाट बनेको तस्बिर प्रयोग गरेकोमा चिढिएकी बताएकी थिइन्। तर वकिलहरूले यो सफाइलाई ‘पछि सोचिएको कुरा’ भन्दै खारेज गरेका छन्। उनीहरूले कलाकारले क्रेडिट र पैसा लिने तर कन्टेन्टबाट अलग हुन नसक्ने तर्क गरेका छन्। यसैबीच अलीगढको मुस्लिम पर्सनल दारुल इफ्ताले पनि नोरा फतेहीविरुद्ध फतवा जारी गरेको छ। गीतको विवाद अब संसदसम्म पुगेको छ, जहाँ सूचना तथा प्रसारणमन्त्री अश्विनी वैष्णवले गीत ब्यान लगाइसकेको जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments